बर्राचौर र रानीपानीमा एमालेका उम्मेदवारप्रति एमाले नै रुष्ट
adminBharat     8 months ago     200
बर्राचौर र रानीपानीमा एमालेका उम्मेदवारप्रति एमाले नै रुष्ट

धौलागिरी अनलाईन
पर्वत, २२ वैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पर्वतका सबै तहका उम्मेदवार आक्रामक रुपमा प्रचारप्रसारमा लागेका छन् । गत मंगलबार जिल्लामा रहेका सात स्थानीय तहका उम्मेदवारले सातै स्थानीय तहमा रहेका निर्वाचन कार्यालयबाट उम्मेदवारी दर्ता गरिसकेका छन्, भने स्वतन्त्रका कतिपय उम्मेदवारले मनोनयन फिर्ता लिईसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
राजनीतिक दलका स्थानीय संयन्त्रले उम्मेदवारको टुंगो लगाउन नसकेपछि क्षेत्रीय र जिल्ला तहले गरेको उम्मेदवार छनोटको निर्णयप्रति भने स्थानीय नेता कार्यकर्ता नै रुष्ट रहेका छन् । ६ वडा मिलेर बनेको विहादी गाउँपालिकाको वडा नं. २ बर्राचौर र वडा नं. ३ रानीपानीमा एमालेले वडाध्यक्षमा छनोट गरेका उम्मेदवारप्रति स्थानीय नेता तथा एमाले समर्थक कार्यकर्ता नै रुष्ट बनेका हुन् ।
एमालेले वडा नं. ३ रानीपानीमा लोकबन्धु पराजुली र वडा नं. २ बर्राचौरमा ओमप्रसाद कुँवरलाई उम्मेदवार बनाएको छ । विहादी गाउँपालिकाको नेतृत्वका लागि हात धोएर लागिपरेका कुँवरले टिकट नपाएपछि एमालेले उनलाई मनोनयनकै दिन वडाध्यक्षमा थन्काएको थियो । बर्राचौर एमालेले पहिले नै टमबहादुर नेपालीलाई वडाध्यक्षको लागि सिफारिस गरेको र जिल्ला कमिटिले कुँवरलाई टिकट दिएपछि एमालेका कार्यकर्ता नै आक्रोशित बनेका हुन् । प्रायजसो राजधानीमै बसोबास गर्ने कुँवर चुनावको समयमा गाउँ आएका हुन् । राजधानीमा होटल व्यवसाय गर्ने कुँवरले शक्तिको आडमा टिकट ल्याएको स्वयं एमालेकै कार्यकता स्विकार्छन् । उनले टिकट पाएसँगै ईमान्दार र सक्रिय कार्यकर्तामा निराशा छाएको छ । पार्टीले योगदान र मूल्यांकनको कदर नगरेको भन्दै कार्यकर्ता निष्क्रिय जस्तै बनेका छन् ।
उता, रानीपानीमा एमालेबाट वडाध्यक्षका उम्मेदवार दिएका लोकबन्धु पराजुली पनि प्रायजसो काठमाण्डौमा नै बसोबास गर्दै आईरहेका छन् । पारिवारिक पृष्ठभुमि कांग्रेस रहेका पराजुलीलाई एमालेभित्रै अविश्वास रहेको स्थानीय कार्यकर्ताले बताउँछन् । २०५४ सालको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसबाट तत्कालीन रानीपानी गाविसको उपाध्यक्षका उम्मेदवार रहेका पराजुली एमालेका ईलबहादुर क्षेत्रीबाट पराजित भएका थिए । २०५४ मा कांग्रेसका उम्मेदवार रहेका पराजुलीलाई हाल एमालेले वडाध्यक्षको उम्मेदवार बनाएसँगै एमालेकै ईलबहादुर क्षेत्रीले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । उनले उम्मेदवारी फिर्ता लिईसकेका छन् ।