समन्वयको अभावमा औषधी अभाव
    4 weeks ago     62
समन्वयको अभावमा औषधी अभाव


रोशन तिवारी चैत्र ७ पर्वत । स्थानीय तहलाई औषधी खरिदको जिम्मा दिँदा औषधीको अभाव भएको छ । बिगतका बर्षमा जिल्ला स्वास्थ्य कार्यालयले नै औषधी खरिद गरेर मातहतका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो । तर, अहिले स्थानीय तहलाई औषधी खरिदको जिम्मा लगाइएको छ । अहिलेसम्म स्थानीय तह औषधी खरिद गर्न अलमलमै छन् । 

संघीयता कार्यान्वयन भएपछि चालु वर्ष औषधि खरिदलगायत विषयगत शीर्षकको बजेट सातवटै स्थानीय तहमा आएको थियो । जिल्ला अस्पतालले वर्षको तीनपटक औषधि खरिद गर्ने गरेको थियो । तर, चालु आर्थिक वर्ष सीमित बजेटको मात्रै खरिद गरेको छ । 

प्रत्येक स्थानीय तहलाई ३ देखि ५ लाख रुपैयाँ बजेट औषधि खरिदमा छुट्याउनुपर्ने स्वास्थ्य संस्थाका कर्मचारीहरू बताउँछन् । गाउँपालिकाले औषधी नदिँदा सिटामोल, एमोक्सीसिलिन, मेट्रोनिडाजोल, एम्पिसिलिन जस्ता औषधी र सर्जिकल सामाग्रीको अभाव स्वास्थ्यमा देखिन थालेको छ ।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४२ किसिमका औषधि निस्शुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । माथिल्लो निकायले पठाउन र स्थानीय तहले खरिद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिएको गाउँका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले बताएका छन् ।  

जिल्लाभर औषधीको अभाव भएपछि बुधबार जिल्ला स्वास्थ्य कार्यालयले औषधीको अभाव र अब के गर्ने भन्नेबारेमा सरोकारवालाको बैठक डाँकेको थियो । सरोकारवालाहरुको बैठकमा समन्वयको अभावमा औषधी खरिद हुन नसकेको गुनासो गरेका छन् । ‘बिगतमा हामीले कार्तिकमै औषधी खरिद गरिसक्थ्यौँ,’ जिल्ला स्वास्थ्य कार्यालयका स्टोर शाखा प्रमुख रघुनाथ रेग्मीले भने,‘ अहिलेसम्म हामीले औषधी पठाउन परिरहेको छ ।’ उनले स्टोरमा औषधी सकिएको जानकारी दिए । स्थानीय तहले औषधी खरिद गर्ने बारेमा जिल्ला संग कुनै समन्वय नगरेको उनले बताए । 

जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट बुद्धिबहादुर थापाका अनुसार जिल्लाभर औषधिभन्दा बढी सर्जिकल सामग्रीको अभाव छ । अघिल्ला वर्षहरूमा ५० लाख रुपैयाँसम्मको औषधि खरिद गरेर गाउँ पठाएको जिल्ला अस्पतालसँग यो वर्ष ४ लाख मात्रै बजेट थियो । ‘हामीसँग उपलब्ध स्रोतको सबै गाउँ पठाइसक्यौं,’ उनले भने, ‘यो वर्ष गाउँका स्वास्थ्य संस्थालाई पठाउने औषधिको बजेट र अख्तियारी हामीकहाँ आएन ।’ स्वास्थ्य संस्थाहरूले औषधि सकिए जिल्लामै माग गर्ने पुरानो बानी छाडेका छैनन् । थापाले स्टक रहने बेलासम्म मिति नसकिएका औषधि भने गाउँ पठाउने गरिएको दाबी गरे । पर्वतमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइ र सहरी स्वास्थ्य केन्द्र गरी ६० स्वास्थ्य संस्था छन् ।

निशुल्क स्वास्थ्य कार्यक्रमका फोकल पर्सन तेजप्रसाद सुवेदीले स्थानिय तहमा औषधी खरिदको रकम पूर्वाधारमा विनियोजन गरेका कारण रकम प्रर्याप्त नभएको बताए । निःशुल्क उपलब्ध गराइने भनिएका औषधिहरुमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक समेत रहेका छन् । स्थानीय तहलाई ५ लाख सम्मको औषधी कोटेसनका आधारमा खरीद गर्न पाउने अधिकार छ भने बाँकीका लागी टेण्डर मार्फत खरीद गर्नुपर्ने हुन्छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)