बलेवा विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता
    1 year ago     220
बलेवा विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता

जेठ ८, पर्वत । विगत २६ वर्षदेखि अवरुद्ध बलेवा विमानस्थल सञ्चालनका लागि दुई नगरपालिकाका मेयरले प्रतिबद्धता व्यक्त गरेका छन् । हालै निर्वाचित कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले २ वर्षभित्रमा विमानस्थल सञ्चालन गर्ने बताएका हुन् ।

राज्यले संरक्षणमा चासो नदेखाएपछि यो विमानस्थल २०४८ सालदेखि बन्द रहेको छ । पृथ्वी राजमार्गको निर्माणपूर्व निकै चहलपहल हुने यो विमानस्थलमा चार जिल्लाका स्थानीयवासीको आवतजावतका कारण तत्कालीन समयमा व्यापारिक दृष्टिबाट पनि यो निकै उपयोगी बनेको थियो ।

विमानस्थलको पुनः सञ्चालनका लागि कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बागलुङको बलेवा क्षेत्रका बासिन्दाको कुश्मा बजारसँग सदियौंदेखिको घनिभूत सम्बन्ध रहेको बताए । उनले बलेवा क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्वतवासीले समेत लाभ लिन सक्ने उक्त विमानस्थलको सञ्चालनका लागि आफूले केन्द्रीय तहसम्म पहल गर्ने उनको भनाइ छ ।

बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले नगरपालिकाभित्रैको बलेवा विमानस्थल सञ्चालन गर्न आफू सक्दो प्रयासमा लाग्ने बताए । उनले आफूले चुनावी घोषणापत्रमा समेत २ वर्षभित्रमा एयरपोर्ट सञ्चालन गर्ने कुरा उल्लेख गरेको जानकारी दिए । समग्र धवलागिरि क्षेत्रको विकासका लागि पनि बलेवा विमानस्थल सञ्चालनमा ल्याउनुको विकल्प नभएको उनको भनाइ छ ।
२०४८ सालदेखि बन्द बलेवा विमानस्थल हाल चरन क्षेत्रमा परिणत भएको छ । विमानस्थलमा हाल एकजना चौकिदारको दरबन्दी छ । विमानस्थललाई पुनः सञ्चालनमा ल्याउनेतर्फ सरकार एवम् राजनीतिक दलको चासो नदेखिएको स्थानीयवासीको गुनासो छ । विमानस्थल लामो समयदेखि बन्द रहँदा धावनमार्ग, टावरलगायत अन्य भौतिक संरचना पनि जीर्ण बन्दै गएका छन् ।

लगभग ४ सय ५० रोपनी क्षेत्रफलमा रहेको यो विमानस्थल पुनः सञ्चालनमा ल्याउन सके पर्यटकीय दृष्टिले लाभदायी बन्ने स्थानीयवासीको भनाइ छ । यो विमानस्थलको उडान क्षेत्रमा पवित्र कालीगण्डकी नदी, बाग्लुङको कालिका भगवती, म्याग्दीको गलेश्वर धाम, धवलागिरि हिमाल, मुस्ताङको मुक्तिनाथ मन्दिरलगायत प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थल रहनाले पनि यस विमानस्थलको पर्यटकीय महत्त्व ज्यादा छ ।

बागलुङको नारायणस्थान गाविसमा पर्ने बलेवा विमानस्थल सञ्चालनमा ल्याउन यहाँका राजनीतिक दल, उद्योगी, व्यापारी र सर्वसाधारणले समेत बेलाबेलामा सरकारसामु माग गर्ने गरेका भए पनि राज्यको ध्यान पुग्न सकेको छैन ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )