लामो खडेरीले किसान मर्कामा
    6 months ago     182
लामो खडेरीले किसान मर्कामा

रोशन तिवारी फागुन २३ पर्वत । पर्वत– लामो समय वर्षा नहुँदा धेरैजसो किसानहरुले हिउँदेखेती लगाउन पाएका छैनन् । मौषमी सिंचाईको भरमा खेती हुने जिल्लाको उपल्लो र सुख्खा टारक्षेत्रका बारीमा खेती लगाउन नपाएपछि वर्षभरि खाने अन्नको जोहो गर्न मुस्किल पर्ने किसानहरुले बताएका छन् ।

जलजला ६ शलिजाका बेलबहादुर पुनले तोरी लगाउन जोतेको बारी बेकामे भएको बताए । ‘कोदो पाकेपछि मंसिरमा बारी जोतखन गरेर पुषे झरीपछि गहुँ–तोरी लगाइन्थ्यो,’ पुनले भने, ‘अहिले एक थोपा पानी परेन । जोतेको बारी खरानी भइसक्यो ।’ मंसिरको पहिलो साता जोतेको उनको बारी अझैसम्म बाँझो छ । आकासे पानीको भरमा खेती गर्दैआएका जलजलाको बाँसखर्क, शालिजा, बनौं, लगायत गाउँका सयौं किसानहरु बारी जोतखन गरेर आकासेपानी कुरिरहेका छन् ।

‘भएको जति सबै बारी जोतेर हिउदेखेती लगाउने तयारी गरेको हो,’ बनौंका हिरा पुनले भने, ‘मौषमले ठुलो चोट दियो ।’ गहुँ, जौ, आलु लगायत बालीले खाद्यान्नको आधा भार थाम्ने उनको परिवार अहिले समस्यामा छ ।

हिउँदे खेतीका लागि आकासे पानीको भर पर्नुपर्ने जिल्लाको करिव ६० प्रतिशत खेतीयोग्य क्षेत्रका किसानहरुले हिउँदे खेती लगाउन पाएका छैनन् । गत असोजको पहिलो सातादेखि आकासे वर्षा भएको छैन । ‘पहिला–पहिला पुषे भरी, माघे झरी लाग्थ्यो, खेतीबाली राम्रो सप्रिन्थ्यो,’ फलेवास ३ की नन्दकला केसीले भनिन्, ‘अहिले सबैको बारी बाँझै छ ।’ आकासे सिंचाइको भरमा खेती गरेका केहि किसानहरुको बाली पनि बारीमै सुकेको छ । आकासे पानी कुरेर खेती लगाउने आश गर्दागर्दै हिउँद गएपछि आगामी वर्ष भोकमरीको चिन्ता बढेको फलेवास ४ का दण्डपाणी पौडेलले बताए ।

खेतीयोग्य जमिनको दुई तिहाइ भन्दा बढीमा खेती गर्न आकासे पानीकै भर पर्नुपर्ने कारण यो वर्ष हिउँदे खेती उत्पादन घट्ने अनुमान कृषिले गरेको छ । कृषिको तथ्याङ्क अनुसार जिल्लामा खाद्यान्नको ५० प्रतिशत बढी माग हिउँदे उत्पादनले धानेको छ । २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार हेक्टरमा मात्रै वर्षे धान फल्छ । १५ हजार हेक्टर पाखोबारी छ । सबै सिजनमा सिञ्चाई हुने जमिन ३ हजार हेक्टर छ । तर, सिंचाई पुगेर पनि बाँझिएको जमिन धेरै छ । ‘सिंचाई योज्य जमिन बाँझो राख्नेलाई कारवाहि गर्ने नियम ल्याइयो । तर, कारवाहि हुनै सकेन ।’ बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले भने, ‘सहज सिंचाई हुने धेरैजसो जमिन बाँझिएको छ । सिंचाई नहुने ठाउँका किसानले खेती गर्न पाएका छैनन् ।’ सबै सिजनमा सिंचाई हुने जमिन बाँझो राख्नेलाई कारवाहि स्वरुप ०७२÷०७३ को जिल्ला परिषदले कारवाहि स्वरुप प्रति रोपनी  ५० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । तर, हालसम्म एक पैसा पनि राजस्व संकलन गर्न सकेको छैन ।