Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2249




कुश्मामा अर्को अग्लो पुल
कुश्मामा अर्को अग्लो पुल
मोदीखोलामाथि बन्ने यो पुलपछि पर्वतको कुश्मामा लामा र अग्ला पुलको संख्या छ पुग्ने भएको छ । कुश्मामा यसअघि तीन वटा अग्ला र लामा झोलुङ्गे पुल, एक यान्त्रिक पुल सञ्चालनमा छ ।

सदरमुकाम कुश्माबजार जोड्ने अर्को अग्लो पुल थपिने भएको छ । अग्ला र लामा पुलको कीर्तिमान बनाएको कुश्माले अर्को नयाँ अग्लो पुल पाउन थालेको हो । कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहाबाट कुश्मा नगरपालिका ९ कटुवाचौपारी जोड्ने अर्को पुल निर्माण सुरु गरिएको हो ।
मोदीखोलामाथि बन्ने यो पुलपछि पर्वतको कुश्मामा लामा र अग्ला पुलको संख्या छ पुग्ने भएको छ । कुश्मामा यसअघि तीन वटा अग्ला र लामा झोलुङ्गे पुल, एक यान्त्रिक पुल सञ्चालनमा छ । अर्को बञ्जीजम्प सञ्चालन गर्नेगरी पुल निर्माण भइरहेको छ । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि नेपालकै अग्लो पुलका रुपमा चर्चामा आएको कुश्मा त्यसलगत्तै दुई वटा झोलुङ्गे पुल र एक यान्त्रिक पुल निर्माण भएर सञ्चालनमा छन् । 
खरेहादेखि कटुवाचौपारीको अधिकारीफाँट जोड्ने यो पुल एक सय २८ मिटर अग्लो रहने भएको छ । त्यसैगरी पुलको लम्बाई तीन सय ५९ मिटर हुने निर्माण कम्पनीका इन्जिनियर थमनाथ अधिकारीले जानकारी दिए । ‘यो पुलको लम्बाई तीन सय ५९ मिटर र उचाई एक सय २८ मिटर रहेको छ’ अधिकारीले भने । उनका अनुसार यो पुल एक करोड ९१ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । ‘दशैअघि यो पुल निर्माण सम्पन्न गर्नेगरी लागेका छौ’ उनले भने । 
उनले बर्षा नलाग्दै लठ्ठा तान्ने तयारी पनि गरेको बताए । ‘मोदी खोला नबढ्दै लठ्ठा तान्न सकियो भने दशैंमा वारपार गर्न सकिन्छ’ उनले भने । उक्त पुल निर्माणको जिम्मा एमके मुक्तिनाथ निर्माण सेवाले लिएको छ । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर अनुप थापाका अनुसार यो पुल पनि सिंगल स्पानका अन्य पुलसरह नै निर्माण हुने भएकाले छोटो समयमै सम्पन्न हुनेछ । 
‘सम्झौता मितिमा १८ महिना भने पनि कम्पनीले काम छिटो गरे निर्माणमा ढिलाई हुँदैन’ थापाले भने–‘कति छिटो सक्ने भन्ने काममा निर्भर छ ।’ यो पुल निर्माणपछि कुश्मा नगरपालिकाका कटुवाचौपारी,  पिपलटारी, ठूलीपोखरी, खौलालाकुरी, पकुवा, फलेबास नगरपालिकाको कार्किनेटा, थापाठाना, लगायतका बासिन्दालाई सदरमुकाम कुश्माबजारसम्म आउजाउका लागि सहज बन्नेछ । त्यसैगरी त्यहाँका बासिन्दा अन्य ठाउँमा जानका लागि समेत सहज बन्नेछ ।

nagariknews
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)