धौलागिरीको विद्युतको समस्या समाधान
    4 months ago     135
धौलागिरीको विद्युतको समस्या समाधान


रोशन तिवारी फागुन ७ पर्वत । धौलागिरी अञ्चलमा पछिल्लो समय देखिएको विद्युतको समस्या समाधान भएको छ । कुश्मानगरपालिका ४ चिलाउने चौतारामा सवस्टेशन निर्माण भएपछि समस्या समाधान भएको हो । यहाँ ३३÷११ केभी क्षमताको सवस्टेशन निर्माण भएको हो । सवस्टेशन निर्माण पश्चात धौलागिरीका पर्वत सहित वागलुङ, म्याग्दी र मुस्ताङको विद्युत प्रसारणमा देखिएको समस्या हटेर गएको विद्युत प्राधिकरणले जनाएको छ । 

सबस्टेसन ‘ग्रिड सबस्टेसन सुदृढिकरण आयोजना’ अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण लगानीमा निर्माण भएको  हो । सबस्टेसन सञ्चालन गरेर कुश्मा बजार क्षेत्रको वितरण प्रणाली ११ केभी लाइनबाट सुरु गरिएको आयोजना प्रमुख बोधराज ढकालले बताए । बडागाउँ, अर्मादी, कुश्मा बजार र फलेबास फिडरको वितरण प्रणाली ११ केभी लाइनमा रुपान्तरण गरेर सञ्चालन गरिएको उनले जानकारी दिए । 

सबस्टेसन नहुँदा धौलागिरी अञ्चलभरि वितरण प्रणाली ३३ केभी मोदी सबस्टेसनमा निर्भर थियो । मोदी सबस्टेसनमा समस्या आउँदा धौलागिरी अञ्चल अन्धकार हुने गरेको थियो । नयाँ सबस्टेसन सञ्चालनपछि पर्वतको वितरण लाइन ११ केभीमा चार्ज गरिएको ढकालले बताए । पहिलो चरणमा कुश्मा बजार वरपरको वितरण प्रणाली सुधार गर्न ३३ केभी क्षमताका २५ ट्रान्सफर्मरको स्थानमा ३२ वटा ११ केभी ट्रान्सफर्मर जडान भएको प्राधिकरणले जनाएको छ । ११ केभी फिडर सञ्चालन हुँदा पर्वतको वितरण प्रणाली सुरक्षित र दिगो हुने प्राधिकरणको दाबी छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)