Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 month ago

132




पर्वतमा सबै ग्रामीण सडकका खोलामा पुल
पर्वतमा सबै ग्रामीण सडकका खोलामा पुल


फागुन १० पर्वत । पर्वतका मुख्य ग्रामिण सडकमा पर्ने खोलाहरुमा धमाधम पुल निर्माण भैरहेको छ । हिउँदमा गाडी गुड्ने तर वर्खामा बन्द रहने ग्रामीण सडकको समस्या पक्कि पुल बनेपछि हट्दै गएको हो । हिउँदमा व्यस्त हुने ग्रामीण सडक वर्षातका करिव ७ महिनासम्म स्थानीय नदी तथा खोलाहरुमा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो । 

चालु वर्ष मात्रै पर्वतका करिव आधा दर्जन मुख्य खोलानदीहरुमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केहि खोलाहरुमा निर्माणाधिन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पुर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुश्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आउजाउ गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको हो ।

गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पु¥याउने लक्ष्यसाथ अघिल्लो वर्षदेखि शुरु भएका सबैजसो पक्की पुल आउँदो २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केहि पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पुर्वाधार कार्यालयले जनाएका छन् । कार्यालयका अनुसार फलेबासको अर्चले भंगरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुश्मा २ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ । गतमहिना कुश्मा नगरपालिका ३ अम्बोटखोला र मोदी गाउँपालिका ६ तिलाहारस्थीत रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुबै पुलले कुश्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसंग जोड्छन् । त्यस्तै मोदी गाउँपालिका १ तथा कास्कीको अन्नपुर्ण गाउँपालिका ९ जोड्ने भुरुङ्दीखोला पुल यसै महिनाभित्रै सम्पन्न हुँदैछ । कास्कीको नयाँपुल हुँदै म्याग्दीको घोडेपानी सम्म पुग्ने सडकमा भुरुङ्दीखोलाको पुन्ल निर्माण भएपछि देशीबिदेशी पर्यटकको यात्रामा सहज हुनेछ ।

पुर्वाधार कार्यालयले चालु वर्ष सकिनेगरि पैयुँ गाउँपालिका ७ मा शेराखोला, पैयुँ ४ मा गेडीखोला, मर्दीखोला र शिव्दीखोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालु वर्ष नै सक्नेगरि तिब्र रुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाघिसकेको छ । ‘ अहिलेसम्म सबै काम सकिन्थ्यो, बैरागीले भने,’कोभिडका कारण केहि समय रोकिएको हो । अहिले धेरै अघि बढिसकेको छ । मनशुन शुरु हुनुअगावै सबै पुल सम्पन्न भएर गाडी चल्छन् ।’

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दीखोला पुलको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै शेराखोला, गेडीखोला, मर्दीखोला र शिव्दीखोलाको काम तिब्र गतिमा अगाडि बढाइएको छ । ‘लकडाउनले केहि महिना डिस्टर्व ग¥यो,‘ आचार्यले भने,‘अब समस्या छैन । जेठअसारभित्रै सबै काम सकिन्छ । शेराखोला र गेडीखोला पुल निर्माणको जिम्मा लिएको वाईएसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडीखोला पुल निर्माण सकिएको छ । शेराखोला र गेडीखोला पुलले पैयुं, बिहादी र महाशिला गाउँपालिका जोड्छन् ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार पर्वतका ग्रामिण सडकलाई सहज हुनेगरि चारवटा पक्की पुल निर्माणको चरणमा छन् । चारमध्ये मोदी गाउँपालिका ५ बाजुङ र कुश्मा नगरपालिका ३ दुर्लुङ जोड्ने अम्बोटखोला पुल निर्माण सम्पन्न भइसकेको छ । डिभिजन प्रमुख रामेश्वर लम्सालले, कुश्मा नगरपालिका २ स्थीत रिठेखोला, तथा पर्वतको फलेबास र बागलुङको जैमिनी नगरपालिका जोड्न कालीगण्डकी पुल निर्माणको चरणमा रहेको बताए । निर्माणाधिन कालीगण्डकीको पुलका लागि आगामी एक वर्ष लाग्नसक्ने उनले बताए । कालीगण्डकी पुलले पर्वतको फलेबास नगरपालिका र बागलुङको जैमिनि नगरपालिका जोड्छ । पर्वतमा निर्माणाधिन यि पुलहरुले सबैजसो मुख्य बस्तीलाई समेट्छन् । विगतमा जेठको अन्तिम सातादेखि मंशीर सम्म अवरुद्ध हुने ग्रामिण सडक आउँदो वर्षदेखि बाह्रै महिना सञ्चालनमा आउने स्थानीयबासीको अपेक्षा छ ।