Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 month ago

102




जलजलामा लुप्राङ पार्कको निर्माण सुरु
जलजलामा लुप्राङ पार्कको निर्माण सुरु

फागुन ३ पर्वत । जिल्लाको जलजला गाउँपालिका—८ लुप्राङमा लुप्राङ पार्क निर्माणको काम अगाडी बढेको छ । स्थानीय युवाहरुको सक्रियता र गण्डकी प्रदेशको सहयोगमा लुप्राङ पार्कको निमार्ण सुरु भएको स्थानीय समाजसेवी सोम जिसीले बताए । वार्षिक योजना अन्र्तगत यो आर्थिक वर्षमा ४ लाख ५० हजार बजेट विनीयोजन भएको छ । पार्क निर्माणका लागि थप बजेट क्रमागत रुपमा आगामी वर्ष विनीयोजन हुने बताईएको छ । पार्कको निर्माणले स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयको विश्वास छ । निर्माणकै चरणमा रहेको पार्कले आफनो गाँउको पहिचान बनाउनेमा स्थानीय डम्बर चपाँई ढुक्क रहेको बताएका छन् ।

पहिले आफनो गाँउको पहिचान बनाउन सफल नभएको तर अहिलेका युवाहरुको पहलमा यो काममा आफु खुसी रहेको बताएका छन् । उनी भन्छन् ‘पहिले कसैले घर कहाँ हो भन्दा पनि बनौँ अथवा नागलिबाङ भन्ने अवश्था थियो, अहिले पार्क निर्माण भैसके पछाडी लुप्राङ भनेर पहिचान दिन सक्छौ ।’ लुप्राङका स्थानीयहरुले अहिलेसम्म पहिचान बनाउन सकिरहेका थिएन्न । उनीहरु कहिले बनौँ अथवा नाग्लिबाङ भनेर चिनाउने गर्दथे । चपाँइ हाँस्दै भन्छन् ‘बनौँ भन्यो भने कहाँनिर भनेर सोध्थे, नागलिबाङ भन्यो कि जनकल्याण मावि भन्दा कता भनेर सोध्दथे । हामीसंग जवाफ थिएन, लुप्राङ भन्दा कसैले चिन्दैनथ्यो ।’

लुप्राङका युवाहरु जागरुक देखिएपछि पार्क निर्माण हुन लाएको हो । स्थानीय समुन्द्र जिसीका अनुसार युवाहरुको चहल पहल तथा सामाजिक काममा जागरुक देखिएका कारण अराजक गतिविधि पनि हट्दै गएको छन् । उनी भन्छन् ‘लुप्राङ पार्क पनि स्थानीय युवाहरुको जागरुकताको एक उदाहरण हो ।’ युवाहरुले केही गर्न सक्दैनन् भन्ने गाँउको भ्रम चिरिएको उनले बताए । उदाउँदा युवाहरुलाई गाउँमा केहि पनि गर्न नदिने गाउँको परिपाटी रहेको थियो । युवाहरुमा देखिएको एकतासंगै गाउँका स्थानीयहरुलाई भिडाएर आफुले स्वार्थपुर्ति गर्ने गाउँका छोटे राजाहरुको पनि खुट्टा पछाडी परेको उनको भनाई छ ।


‘हामी युवाहरुलाई लडाएर कोहि युवाहरुलाई विदेश जान प्रेरित गर्दथे भने कसैलाई बसाँई सराई गरेर जान सल्लाह दिन्थे । तर कसैले पनि गाँउमा रहेको स्रोत तथा साधनको प्रयोग गरेर कसैले पनि गाउ ठाँउ चिनाउन पर्छ भनेर कसैले सिकाएनन्,’ उनले भने,‘गाँउमा पर्याप्त मात्रामा रोजगारी अवसरहरु रहे पनि गाँउका बुद्धिजिवीहरुले नै लखेटन खोज्ने गरेको देखिन्थ्यो ।’ थुप्रै समस्याका बाबजुद पनि युवाहरुको सक्रियतामा पार्क निर्माण कार्य भैराखेको लुप्राङ पार्कका निर्माण कार्य समितिका अध्यक्ष धु्रब रेग्मीले बताए । ‘सर्वप्रथम युवाहरुलाई संगठित गर्न समस्या भयो, पछि संगठित भएका युवाहरुलाई पनि भडाउन खोजियो,’ उनी भन्छन्,‘सानो ठाँउमा युवाहरुलाई जागरुक बनाउन खोज्दा, विकास निर्माणमा अगाडी बढाउन खोज्दा आँखी बनाउँदा रहेछन् ।’

अहिले उक्त समस्याहरु नरहे पनि पार्क बनाउँदा अन्य समस्या रहेको बताएका छन् । विशेषगरी सामान ढुवानी गर्न निकै समस्या रहेको उनले बताए । पर्वतको खनियाघाटबाट झण्डै १३ किलो मिटरमा पार्क निर्माण गर्न स्थलमा पुग्नुपर्छ जुन कच्ची र भिरको बाटो रहेको छ । ‘कच्ची र भिरको बाटो भएकै कारणले सवारी साधानले सामान ढुवानी गर्न हिच्किचाउने र भाडा पनि महंगो लिने गरेका छन् । पार्क निर्माण स्थल मालारानी वनको शिरमा रहेको छ । पार्कबाट धौलागिरि हिमाल, बागलुङ बजार, बेनी बजार, पञ्चकोट, कुश्मा बजार तथा ७ जिल्लाका विभिन्न ठाउँहरु एकै पटकमा नियाल्न सकिने रेग्मीले बताएका छन् । आन्तरिक पर्यटकहरु पार्क निर्माण नहुदै उक्त ठाँउमा पिकनिक , घुम्न, लगायतका कार्य गर्नका लागि त्यस ठाँउमा पुग्ने गरेको बताएका छन् ।

त्यसैगरी पाङ तथा बागलुङ जोड्ने लामो पुलले लुप्राङ पार्कको प्रवद्र्धनमा साथ दिने उनले बताएका छन् । लामो पुलबाट करिब एक घण्टाको हिँडाईमा यस पार्कका पुग्न सकिने उनले बताएका छन् । पार्कमा भ्यु टावर पनि निर्माणका लागि पहल गर्ने समेत उनको समूहको योजना रहेको छ । हाललाई फुलहरुले सिँगार्ने , बाटो बनाउने, जाली राख्ने, तथा युवाहरुलाई क्याम्पिङको लागि ठाँउहरु बनाउने योजना रहेको उनको भनाई छ । निर्माण नहुदै क्याम्पिङका निमित्त दिनहुँ केहि समुह बनाएर युवाहरु जाने गरेको बताएका छन् ।