Correspondent, ParbatNepal
3 years ago
3220
नोभेम्बर ८ मा सम्पन्न पर्वत वेलफेयर सोसाइटी युके आठौँ अधिवेशनले नेत्र आलेलाई दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । विभिन्न सिलसिलामा बेलायत पुगेका पर्वतेलीहरुको यो संस्था जिल्लामा हुने सामाजिक देखि विकासका गतिविधीमा सक्रिय छ । यही संस्थामा दोश्रो कार्यकालका लागि आले निर्वाचित भएका हुन ।
पर्वतको दक्षिणी क्षेत्र पैयुँको पाट्नेथरबाट जीवनयात्रा सुरु गरेका आले को हुन त ? कसरी बुटवलबाट पैदल यात्रा गर्ने उनी आज विश्वकै विकसितमध्येको एक देशमा बसेर पर्वतको सेवामा तल्लीन छन ? कसरी उनी यो संस्थाको नेतृत्वतहमा पुगे ? बाल्यकालदेखि युवावयमा उनले कहाँकहाँ पसिना बगाए ? उनले भोगेका जीवनका उतारचढावबारे पर्वतनेपालले उनै आलेसँग कुराकानी गरेको छ ।
आले अहिले ५५ वर्षका पुगे । पर्वतको हालको पैयुँ गाउँपालिका ४ (तत्कालीन हुवासको पाट्नेथर) मा स्थायी घर भएतापनि उनी भने हङकङमा जन्मिएका थिए । ५५ वर्षअघिको ग्रामीण भेगको कल्पना गर्न पनि सकिँदैन । त्यसमाथि कुश्मा सदरमुकामदेखि दक्षिणमा रहेको हुवासको गाउँ सुगम हुने त कुरै भएन ।
बुवा थिए, ब्रिटिस आर्मी । त्यो बेलामा हङकङमा कार्यरत । आले जन्मिएको ६ वर्षपनि बुवाको अवकाश भयो । त्यसपछि उनी पुख्र्यौली थलोमा फर्किए ।
त्यतिबेलाको पैयुँ, उनी सम्झिन्छन, “बाबा आर्मीबाट रिटार्यड हुनुभयो । अनि हामी पुख्र्यौली थलो पैयुँको पाट्नेथर फर्कियौँ । त्यतिबेलाको पैयुँखोला आजभन्दा ५०÷५२ वर्षअघि कस्तो थियो होला ? न राजमार्ग थिए, साधन हुने त कुरै भएन ।”
अहिले पैयुँदेखि बुटवल, वालिङ, पोखरासँग सिधा सम्पर्क छ । बाटोको सुविधा छ, कालोपत्रे हुने क्रममा छ । साधनहरु छन ।
राजमार्ग र साधन नभएको त्यो समयमा बुटवल देखि पैदल यात्रा गरेर घर फर्केका थिए । उनी सानै थिए । उनका दाजु (स्व.) गुप्त आलेले उनलाई काँधमा बोकेर ल्याए ।
“म दाजुको पिठ्युँ गर्धनमा यात्रा गरेको कुरा दाजुले स्मरण गराइरहनुहुन्थ्यो ।” उनी भन्छन ।
बाल्यकाल हङकङमा बिताएपनि संघर्षको पाइला भने उनले गाउँबाटै गरे । विद्यालय जाने उमेर हुँदासम्म उनी गाउँ फर्किसकेका थिए, आफ्ना परिवारसँगै ।
गाउँ फर्केपछि उनको शिक्षायात्रा सुरु भयो । पैयुँमा अहिले संस्कृत उच्च माध्यमिक विद्यालय छ, सुरुमा त्यो जनसेवा प्राथमिक विद्यालय थियो । विद्यालय त थियो तर सुचारु भने थिएन ।
अन्ततः आले त्यही विद्यालयमा भर्ना भए । धुलोमैलो हुँदै विद्यालय गए, डण्डीबियो र झुम्राको बल खेले ।
“बाल मष्तिष्कको स्मरण गर्दा झन्डै २ वर्ष धुलोमुलो र अन्य बालबालिका जस्तै झुम्राको बल, डण्डीबियो खेलमा बित्यो ।” उनी सम्झिन्छन ।
प्राथमिक तहको अध्ययनपछि उनी माध्यमिक शिक्षाको लागि निर्मल जनसेवा माध्यमिक विद्यालयमा भर्ना भए । यो २०३८ सालको कुरा हो ।
शिक्षा अध्ययनकै क्रममा उनको उमेर बाल्यकालदेखि युवावयसम्ममा आइपुगेको थियो ।
उनको रहर थियो, म अझै पढ्छु, उच्च शिक्षा लिन्छु ।
त्यो समयमा शिक्षाप्रतिको त्योस्तरसम्मको चेत उनमा थियो तर पुरा भने हुन पाएन । कारण, बाबा, दाजुहरु सबै ब्रिटिस आर्मी ।
फौजीप्रतिको आकर्षण उनको मष्तिष्कमा पर्नु स्वभाविक नै थियो र उनले पनि रोजे फौजी जीवन ।
संयोग मानौँ, त्योबेलामा गल्लावाला पनि आइपुगेका थिए । उनले टाउको र छाती जँचाए । पास भए र १४ वर्ष पाट्नेथरमा बसेपछि जागिरे जीवनमा प्रवेश गरे, हङकङबाट । जहाँ उनी जन्मिएका थिए ।
सुरुमा हङकङ बसे, त्यसपछि बु्रनाई, युकेमा उनले फौजी जीवन बिताए । जीवनसँगै उमेर पनि बिताए ।
“जीवन सरल भन्ने त हुँदैहुँदैन भन्दा हुन्छ । कष्टैकष्ट र ठक्करैठक्करको जीवन भएपनि त्यसमै रमाउन थालेँ ।” उनले भने ।
हाल उनी पनि रिटायर्ड आर्मीको जीवन जिइरहेका छन । अवकास पनि उनी सपरिवार युकेमा छन । सानोतिनो जागिर पनि गरिरेहका छन । उनी भन्छन, “सानोतिनो जागिर खाँदै सपरिवार दैनिक कार्य चली रहेको छ ।”
यी थिए उनका भोगाई, सुनाई, देखाइहरु । जो उनलाई मात्रै थाहा छन ।
तर, उनी अहिले आफ्नो दुख अरुलाई सुनाउँदैनन, बरु दुखमा परेका पर्वतेलीलाई सहयोग गर्दछन ।
पर्वत वेलफेयर सोसाइटी युके नामक संस्थामा अध्यक्ष छन, र अहिले उनी नेतृत्वको संस्थाले संस्थागत रुपमा सहयोग गर्दछ ।
उनी भन्छन, “भु.पु. गोर्खा सैनिक लाई यु.के. आउने अनुमति बेलायत सरकारले दिएपछि धेरै भु.पु. सैनिकहरु आउने क्रम बढ्यो । बेलायत आएपछि भने भाषा समस्या देखियो, उहाँहरुलाई सहयोग गर्दै जाँदा संगठित भएर गयौँ भने ठुला समस्या पनि सजिलैसँग गर्न सकिने रहेछ ।”
यही प्रेरणाले उनी संस्थामा आबद्ध भएका थिए । र वर्तमान अध्यक्ष पनि उनै हुन ।
संस्थाले केही महिनाअघि नौजनाको ज्यान जानेगरि आएको दुर्लुङको पहिरो पीडितको घर निर्माण गर्ने योजनामा छ । हामीले सोधेका थियौँ संस्थाका आगामी कार्यहरु केके हुन सक्छन ?
उनले भने, “अहिले म संस्थाको नेतृत्वमा छु । संस्थाले केके ग¥यो भन्दा पनि हालमा चाहिँ दुर्लुङ पहिरो पीडितलाई घरनिर्माण गरिदिने योजनामा छौँ । बाँकी युकेमा हुनुभएको सम्पूर्ण पर्वत जिल्लावासीलाई अझै सशक्त र सङ्गठित बनाउने कार्ययोजना छ ।”
अन्तिममा उनले भने, “हाम्रो देशमा भैपरि आउने दैवीप्रकोप, असहाय, दीनदुखीहरुलाई विदेशमा रहेर पनि देशको मायाले सताइरहन्छ, त्यसैकारणले पनि आफ्नो काम थाती राखेर समयमयमा स्वयमसेवक भएर समय अनि धन खर्चिन्छौँ । सहयोग रकम कहाँबाट आउँछ भन्नुहोला, हामीले हाम्रै गास काटेर दिने हो, तर नेपालमा भने कतै विदेशी सरकारले लियो होला भन्ने भ्रममा नपर्नुहोस, यहाँको सरकार के सहयोग गर्ने गर्छ, त्यो आफ्नै ठाउँमा छ । मेरो कुरा राख्ने अवसर दिनुभएकोमा पर्वतनेपाल डटकमटलाई धन्यवाद ।”