वाँदर डुल्ने गाउँमा कफी खेती
    4 months ago     169
वाँदर डुल्ने गाउँमा कफी खेती

रोशन तिवारी  (माघ ७ पर्वत)-  वाँदरले अन्नवाली सखाप पारेपछि फलेवास नगरपालिकाका कृषक कफी खेती गरेर आत्मानिर्भर हुन थालेका छन् । वाँदरले मकै , गहुँ , कोदो , आलु जस्ता खेती नष्ट गर्ने भएपनि कफी खेतीमा खासै असर नगर्ने कारण कफी खेती फस्टाएको हो । फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन । अन्नबाली बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन् ।

        ‘धान र मकैमा वाँदरले वढि क्षती पार्न थालेपछि कफी लगाउन थालेका हौँ,’ फलेवास ९ का चन्द्रवहादुर थापाले भने,’ वाँदरको उपद्रोले अरु खेती गरेर गेडो भित्राउन समस्या छ ।’ उनका अनुसार एक सय १६ जना कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको पनि उनले वताए । अन्य परम्परागत खेती भन्दा कफीको उत्पादन राम्रो भएको कृषकहरुको अनुभव छ । ‘मैले झन्डै १५ रोपनी क्षेत्रफलमा कफी रोपेको छु । उनले भने,’ यस वर्षदेखि केही बोटमा फलसमेत लागेको छ ।’

यो गाउँका एक सय १६ जना कृषकहरुको सयभन्दा बढी संख्यामा कफीका बोट छन् । चेरी र प्राचमेण्ट कफिको माग वढ्दो रहेकाले उत्पादीत वस्तुको वजारीकरणमा समस्या छैन । ओसिलो जमिन र मलिलो माटो भएका कारण तीन वर्ष अगाडी रोपेका विरुवाले गाउँको पाटो हरियाली देखिन्छ । ‘ कफी खेती गाउँभरि नै विस्तार गर्ने योजना छ ,’ कफी व्यवसाय समूहका अध्यक्ष टिकाराम भुसालेले भने,‘ गाउँभरि कफी फलाउन सके यो जिल्लाकै धनी गाउँ वन्ने देखेका छौ ।’ अध्यक्ष भुसालका अनुसार कफीको मूल्य राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेसा छाडेर यसतर्फ लाग्ने वढेका छन् । 

गुड नेवर्स ईण्टरनेशनल मार्फत यहाँ कफी खेतीको अभियान चलेको हो । कृषकहरुलाई विरुवा संस्थाले नै दिएको हो । वेला वेलामा प्रशिक्षण, औषधी र गोडेमेलका लागि चाहिने उपकरण पनि संस्थाले दिने गरेको कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले वताए । 

कफी संकलनका लागि दुईकोठे भवन निर्माण सुरु गरिएको छ । करिब १५ लाख रुपैयाँ लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्र निर्माण कार्य सुरु भएको रिजालले जानकारी दिए । कृषकले उत्पादन गरेको कफी संकलन गरेर बिक्री गर्न बजार पठाइने रिजालले बताए । सबै कृषकले लगाएको कफी खेतीले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोडभन्दा बढी आम्दानी लिन सकिने जनाइएको छ । 

फाईल तस्विर

पर्वतको कुश्मामा रहेको जिल्ला कफि व्यवसायी संघको कफि नर्सरीमा गोडमेल गरिँदै ।