अन्तराष्ट्रिय पर्वत समाजले वाँड्यो विद्यार्थीलाई न्यानो कपडा
रोशन तिवारी     1 week ago     474
अन्तराष्ट्रिय पर्वत समाजले वाँड्यो विद्यार्थीलाई न्यानो कपडा

पुष २३ पर्वत-

जाडोका कारण समस्यामा रहेका स्कुले वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित जनप्रिय प्राविका २७ जना वालवालिकालाई आईतवार न्यानो कपडा वितरण गरिएको हो । अन्तराष्ट्रिय पर्वत समाजको आर्थिक सहयोग र रेडियो शालिग्रामका पत्रकार एवं फलेवास साप्ताहिकका कार्यकारी सम्पादक साजन परियारको पहलमा विद्यार्थीेहरुलाई न्यानो कपडा अन्तर्गत उनीको सुईटर, टोपी र स्कुले जुत्ता वितरण गरिएको हो ।

फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माको प्रमुख आतिथ्यता, पत्रकार साजन परियार र वडाध्यक्ष दिपक शर्मा पौडलको विशिष्ट आतिथ्यतामा विद्यालयका वालवालिकालाई न्यानो लुगा वितरण गरिएको थियो । कार्यक्रममा वोल्दै अतिथीहरुले सहयोगदाताहरुलाई धन्यवाद दिएका छन् । नेपालवाट विदेशमा रोजगारीमा गएका दाजुभाईले जिल्लाभित्र परोपकारी कार्यमा आफ्नो कमाईको केहि हिस्सा सहयोग गरेकोमा उहाँहरुको यो अभियानलाई जति प्रसंसा गरेर पनि नपुग्ने वताएका छन् ।

 फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले सहयोग गर्ने अन्तराष्ट्रिय पर्वत समाजलाई धन्यवाद दिनुभयो । मेयर शर्माले आगामी दिनमा स्थानीय सरकार संग पनि समन्वय गरि सामाजिक विकासका कार्यमा हातेमालो गर्न आग्रह गर्नुभयो । पत्रकार साजन परियारले आफ्नो सानो अनुरोधलाई स्विकार गरि सहयोग गरेकोमा अन्तराष्ट्रिय पर्वत समाजलाई आभार प्रकट गर्नुभयो । वडाध्यक्ष दिपक शर्मा पौडेलले विद्यार्थीहरुलाई गरेको सहयोग निकै नै प्रसंसनिय रहेको वताउनुभयो । न्यानो कपडा पाएका वालवालिकाहरु खुशीले गदगद भएका छन् । दुई छाक टार्न धौ धौ हुने विपन्न समुदायका वालिवालिका यो विद्यालयमा पढ्छन् । जाडोले लुगलुग काम्दै विद्यालयमा पढ्न आउने वालवालिकालाई न्यानो कपडा दिएकोमा विद्यालयका अध्यक्ष कृष्ण तिवारीले राहातको महसुस गरेको वताउनुभयो ।

सहयोग प्रति विद्यालयका प्रधानाध्यापक दुर्गा सुबेदी लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र सुबेदीले अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, महासचिव गुणराज शर्मा ,पर्वत समाज वेल्जियमका अध्यक्ष झलक केसी र पत्रकार साजन परियारलाई सहयोगका लागि विशेष धन्यवाद दिनुभएको छ । उक्त विद्यालयमा अधिकाँश विपन्न समुदायका वालवालिका अध्ययनरत छन् ।

अन्तराष्ट्रिय पर्वत समाजले १ करोडको परोपकारी कोष खडा गरि पर्वत जिल्लामा दिर्घकालिन रुपमा काम गन अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो । उहाँले पर्वत जिल्लाको समृद्धि र विकासका लागि कोष खडा गरिएको बताउनु भयो । अन्तराष्ट्रिय पर्वत समाज विदेशमा रोजगारीमा पुगेका पर्वतका यूवाहरुले स्थापना गरेको परोपकारी संस्था हो ।