पर्वतका धरोहर अमृत जोशीको स्मृतिमा विविध कार्यक्रम
रोशन तिवारी     1 week ago     43
पर्वतका धरोहर अमृत जोशीको स्मृतिमा विविध कार्यक्रम

रोशन तिवारी  पुष २३ - पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक व्यक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको दशौँ स्मृति दिवस पुरस्कार वितरण र अधिबेशन गरि सम्पन्न भएको छ । पर्वतको कुश्मामा भएको कार्यक्रममा जोशीको जीवनको वारेमा प्रवचन, एसईइ परिक्षामा उत्कृष्ठ अंक ल्याएर उतिर्ण भएका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सम्मान गरिएको छ भने अधिबेशन मार्फत नयाँ नेतृत्व चयन भएको छ । स्मृति दिवसको कार्यक्रममा वोल्ने वक्ताहरुले अमृतप्रसाद जोशीको समाजसेवाको उदाहरण अहिलेका पुस्ताहरुले अनुसरण गनुृपर्ने आवश्यकतामा जोड दिएका थिए । 


उनीहरुले अमृत जोशी समाजसेवा र राजनीतिमा निष्ठा र आदर्शका पर्याय भएको वताएका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं अमृतप्रसाद जोशीका ज्येष्ठ सुपुत्र अर्जुनप्रसाद जोशीले  अमृतप्रसाद जोशीको राजनीतिक प्रेरणा आफ्नो राजनीतिक जीवनको सर्वोत्तम पूजी भएको वताउनु भएको थियो । नेता जोशीले अमृत जोशी लामो समय पर्वत जिल्ला पञ्चायतको सभापतिजस्तो महत्वपूर्ण पदमा बसेर पनि निष्कलंक र सर्वमान्य व्यक्तिका रुपमा परिचित हुनसक्नु उहाँको सबैभन्दा ठूलो त्याग भएको वताउनु भयो । 


अमृत जोशीले व्यक्तिगत फाइदा र लाभभन्दा सामाजिक न्याय र जिल्लाको विकासमा ध्यान दिनुभयो, वास्तवमा उहाँको त्यो उच्च राजनीतिक संस्कार र समाज सेवालाई आजको पुस्ताले अनुशरण गर्न सक्नुपर्छ ।’– नेता जोशीले भन्नुभयो । नेता जोशीले राजनीति भन्दा सामाजिक सेवाको क्षेत्र निकै फराकिलो भएको उल्लेख गर्दै अमृत जोशीको समाजप्रतिको त्यही निष्ठा, त्याग र समर्पणका कारण आज पर्वतका हरेक जनताले उहाँलाई श्रद्धा गरिरहेको दावी गर्नुभयो । उहाँले अमृत जोशी स्मृति प्रतिष्ठानलाई कुनै विचारको वरिपरि मात्र सिमित नबनाएर सबैको साझा प्रतिष्ठानका रुपमा विकास गर्न सुझाव दिनुभयो । 


कार्यक्रममा कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अमृत जोशीको राजनीतिक संस्कार र सामाजिक योगदानको सबैले अनुशरण गर्न जरुरी रहेको वताउनु भएको थियो । कार्यक्रममा पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल, नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गावहादुर खत्री, नेकपा एमालेका उपसचिव गोविन्द पहाडी, अमृत जोशी स्मृति प्रतिष्ठानका सल्लाहकार वसन्तवहादुर सिके, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, आदर्श अंग्रेजी आवसिय माविका प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्री, भडखोरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमनाथ पौडेल, नारायण माविका पुर्व प्राचार्य पृथ्वीनारायण शर्मा, प्रजातन्त्र सेनानी एवं जोशीका समकालिन हरिप्रसाद शर्मा लगायतले वोल्नुभएको थियोभने संस्थाका संस्थापक सचिव कमलनाथ शर्माले स्वर्गिय अमृतप्रसाद जोशीको जीवनीवारे प्रकाश पार्नुभएको थियो । हरेक वर्ष प्रतिष्ठानले उत्कृष्ठ विद्यार्थीहरुलाइ वितरण गर्दै आएको पुरस्कार अन्तर्गत इसईइ परिक्षामा सामुदायिक विद्यालय अन्तर्गत नवजागृत मावि तिलाहारका निर्मल पौडेल र विनु लामिछानेलाई सम्मान सहित पुरस्कार वितरण गरिएको छ । 


संस्थागत विद्यालय अन्तर्गत आदर्श अंग्रेजी आवसिय मावि कुश्माका सोनिसा थापा, विकास कुमार शाह र कविता शर्मालाई सम्मान गरिएको छने नमूना आवासीय माविका अनिल तिवारी र अरविन्दराज पौडेललाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मानकुमारी गिरी र सञ्चालन सचिव माधव पौडेलले गर्नुभएको थियो  ।


यसैविच आज सम्पन्न भएको प्रतिष्ठानको अधिबेशन मार्फत गंगाधर तिवारी पुन सर्वसहमत अध्यक्षमा चयन हुनुभएको छ । देविप्रसाद विलासीको निर्वाचन मण्डलले समिति चयन गरेको हो । उपाध्यक्षमा मानकुमारी गिरी , सचिवमा माधव पौडेल, कोषाध्यक्षमा निर्मल विश्वकर्मा, सहचिवमा आशिष जोशी चयन हुनुभएको छ । सदस्यहरुमा खेमनाथ शर्मा, रमाकान्त शर्मा, कलावती पुरी, ईश्वरी पाठक, प्रभा खड्का श्रेष्ठ, महेन्द्रकुमार जोशी रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा हरिप्रसाद शर्मा, देविप्रसाद विलासी, कमलनाथ शर्मा, सोमलाल आचार्य, कुलप्रसाद उपाध्याय, पर्शुराम पुरी चयन हुनुभएको छ ।