सुन्तला गाउँमै सुन्तला किन्न मुस्किल
    3 months ago     88
सुन्तला गाउँमै सुन्तला किन्न मुस्किल


रोशन तिवारी

पुष १९ पर्वत -


जिल्लाको वाँसखर्कमा सुन्तला किनेर खान मुस्किल छ । यहाँका कृषकहरुले वोटवाटै ठेक्का लगाउने कारण फुटकर रुपमा सुन्तला किन्न मुस्किल हुने गरेको हो । गाउँमा पुग्नेले वाँसखर्कको सुन्तला चाख्न पनि पाउँदैनन् । ‘अघिल्लो हप्ता सुन्तला खाने धोको लिएर वाँसखर्क गएको त्यहाँ एक दुई किलो किन्न नपाईँदो रहेछ,कुश्माका ओमप्रसाद घायलले भने,’ वोट नै ठेक्का लगाएका कारण फुटकर रुपमा किन्न नपाईने रहेछ ।’ उपभोक्ताले मात्रै हैन सुन्तला उत्पादक कृषकहरुले समेत आफैँले फलाएको सुन्तला धितले खान पाउँदैनन् । 

मंसिरमै व्यापारीले सुन्तलाको वोटवाटै अग्रिम वुकिङ गर्ने कारण ग्राहक र कृषकहरुले सुन्तला टिपेर खान पाउँदैनन् । अग्रिम वुकिङ गर्ने व्यापारीहरुले सुन्तला पाक्ने वेला गाउँमै आएर कुरुवा वस्ने गरेका छन् । ‘हामीले आफैँ उत्पादन गरेर पनि टिपेर खान पाईन्न । किन्न आउनेलाई पनि हामीले रित्तो हात पठाउने गरेका छौँ , कृषक भक्त पाईजाले भने ।

स्वादमा रसिलो र दानामा उत्कृष्ठ सुन्तला यहाँ उत्पादन हुने गरेको छ । त्यहि भएर यहाँको सुन्तला किन्न झापासम्मका व्यापारीहरुले तछाडमछाड गर्ने गरेका छन् । स्थानीय व्यापारीहरुले त यहाँ सुन्तला किन्न नै पाउँदैनन् । मंसिरमै वोटवाटै ठेक्का लाग्ने यहाँको सुन्तला स्थानीय वजारमा किन्न पनि पाईन्न । 

कतिपयले फागुन सम्मै वोटमा राखेर तेव्वर मुल्य पार्ने गरेका छन् । उत्तरी मोहडा फर्किएको भू वनोट, अनुकुल हावापानी र पारिलो घाम लाग्ने भएकाले यहाँ फागुनसम्मै वोटमा सुन्तला रहने गरेको स्थानीय कृषक मेखवहादुर खत्रीले वताए । ‘अहिले वेच्दा वजार मुल्य भन्दा वढि लिँदा विक्री हुँदैन, खत्रीले भने,’ फागुन सम्म राखेर हामीले १७० रुपैयाँ किलोमा वेच्ने गरेका छौँ ।‘ खत्रीले भने ‘वर्षेनी नयाँनयाँ व्यापारीहरु सुन्तला खोज्दै आउने गरेका छन् ।’ थोक तथा फुटकर बिक्रेताहरु सुन्तला खरिद गर्न बोटमै पुग्ने गरेका छन् । 

यहाँका २ सय १० घरपरिवारको मुख्य पेशा नै सुन्तला हो । वाँसका घारी फाँडेर सुन्तला रोपेका कृषकहरु अन्य खेती गर्दैनन् । कृषकहरुले सुन्तलावाटै एक सिजनमा १ लाख देखि १८ लाख सम्म आम्दानी गर्ने गरेका छन् । पहिला बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जंगल नै भएको छ । पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोगकिराको व्यवस्थापन, सुत्तला टिप्ने मेसिन, कलमी बिरुवा उत्पादन लगायतमा सहुलियत र सहज भएको छ ।

सुन्तलाको सम्भावना राम्रो भएकाले कृषि कार्यालयले पनि हरेक वर्ष लगानी र श्रम बढाउँदै गएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘यो वर्षदेखि हामीले खासै केही गर्न सक्ने अवस्था छैन,’ रेग्मीले भने, ‘गएका ६ वर्ष कृषिको धेरैजसो लगानी बाँसखर्कमा परेको छ ।’ 

सुन्तला खेतीवाटै आउने रकमले यहाँका कृषकहरुले पोखरा, वेनी, कुश्मा र तराईका जिल्लाहरुमा घरघडेरी जोडेका छन् । एउटा न एउटा वजारमा घर घडेरी नभएका कृषकहरु कोही छैनन अगुवा कृषक जगतवहादुर खत्रीले भने, यो गाउँ सुन्तलाका कारण जिल्लाकै सबैभन्दा धनी गाउँ वन्दै गएको छ ।’

वाँसखर्कको सुन्तला नेपालकै उत्कृष्ठ 

वाँसखर्कमा उत्पादन भएको सुन्तला नेपालकै उत्कृष्ठ भएको छ । पोखरामा भएको देशभरिका सुन्तलाको परिक्षणमा पर्वतको सुन्तला उत्कृष्ठ ठहरिएको हो । जिल्लाको वाँसखर्कको सुन्तला देशभरिका सुन्तला भन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याव परिक्षणवाट पत्ता लागेको हो 

। कृषि विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पोष्ट हार्वेष्ट निर्देशनालय लगायतका निकायले संयुक्त रुपमा सुन्तलाको परिक्षण गरेका थिए । आईतवार गरिएको परिक्षणमा पर्वतको सुन्तला उत्कृष्ठ रहेको ठहर गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताए । 

पर्वत जिल्लामा अनन्य ठाउँको भन्दा वाँसखर्कको सुन्तला स्वादिलो देखिएको रेग्मीले वताए । पर्वत, स्याङजा, कास्कि, म्याग्दी, वागलुङ, लमजुङ, तनहुँ, गोर्खा लगायतका जिल्लाका कृषकहरुका सुन्तलाको ल्याव परिक्षण गरिएको हो । उपयुक्त भू–वनोट, उत्तरी मोहडा फर्किएको पाटो, वगैँचा सुधार, प्रयाप्त मल र सिँचाईको व्यवस्थाका कारण वाँसखर्कको सुन्तला स्वादिलो हुने गरेको कृषि प्राविधिकहरुले वताएका छन् । वाँसखर्कको सुन्तलाको दानाको आकार पनि ठुलो हुने गरेको छ । 


सम्बन्धित समाचार (जिल्ला )