मल्लाज दरवार र कोटकालिकामा पर्यटक वढे
admin     3 months ago     67
मल्लाज दरवार र कोटकालिकामा पर्यटक वढे

पुष ११ पर्वत -

पर्वतको जलजला गाँउपालिका स्थित मल्लाज दरबार र मल्लाजकोटमा पुग्ने पर्यटकहरुको संख्या बढेको छ । कोटमन्दिरप्रतिको धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुविधा भएकाले उक्त क्षेत्र पर्यटकको रोजाईमा परेको हो ।

मल्लकालिन राजाले शासन गरेको मल्ल दरवार र मल्लकालिन सभ्यता समाविष्ट कोटकालिका मन्दिरमा दैनिक २ हजारको संख्यामा पर्यटकहरु पुग्ने गरेको स्थानीय नविन जिसीले जानकारी दिए । आवतजावतका लागि मोटरबाटोको स्तरोन्नती, पैदल मार्ग र सहज यातायातको सुविद्याले पनि पर्यटकको संख्यामा बृद्धि भएको हो । 

बेनी बजार आसपासबाट जाने सडकहरु समेत निर्माण गरिए पछि पनि हिजो आज मल्लाज घुम्न जाने पर्यटकको संख्यामा बृद्धि भएको हो । म्याग्दीको तातोपानी कुण्ड तथा मुस्ताङ घुम्न जान पर्यटकहरु पनि एक पटक मल्लाज पुग्ने गरेका छन् । 

अलपत्र रहेको मल्लाज दरबार र कोट मन्दिरको अहिले पुनःनिर्माण गरिएको छ । १ सय ५१ वर्षअघि मल्लकालीन समयमा बनेको माझफाँटस्थित उक्त दरबार जिर्ण बनेको थियो । उक्त स्थानबाट धौलागिरि हिमालको दृष्यावलोकन पनि गर्न सकिन्छ । बाइसे चौबीसे राज्यका पालामा निर्मित मल्लाज कोट, दरबार लगायतका ऐतिहासिक स्थलको संरक्षण गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाले पहल गरेका छन् । कोटमन्दिरमा भक्तजन तथा पर्यटक भित्राउनका लागि म्याग्दी बेनीको कालीपुलदेखि डिलफाँटसम्म निर्माण भएको पक्की सिँढीसहितको पैदलमार्गलाई कोटसम्म नै विस्तार गर्ने लक्ष्य राखिएको स्थानीयबासीले बताएका छन् । 

मल्लाज घुम्ने पर्यटकको संख्या दिनहुँ बढ्न थालेपछी होटल व्यवसायीहरु व्यस्त वनेका छन् । यहाँ आउने हजारौँ पर्यटकहरुले होटल भरिभराउ हुन थालेको स्थानीय पार्वती मल्लले वताईन । पर्यटकहरु मल्लाजमा बास भने कमै बस्छन् तर खाना तथा खाजा खाने आन्तरिक तथा बाह्य पर्यटकहरु बाट होटल व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएको मल्लले वताईन । अपेक्षाकृत रुपमा पर्यटकको संख्या बढेपछि होटल व्यवसायी तथा लगानीकर्ताहरु उत्साहित बनेका छन । 


सम्बन्धित समाचार ( मुख्य खबर)