फलेवास नगरभित्रका सडकको मापदण्ड निर्धारण
admin     6 months ago     130
फलेवास नगरभित्रका सडकको मापदण्ड निर्धारण

पुष ११ पर्वत- 

फलेवास नगरपालिकाले नगरभित्रका सडकको मापदण्ड निर्धारण गरेको छ । नापजाँच नभई खनिएका सडकलाई राष्ट्रिय मापदण्ड अनुसारको वनाउने गरि मापदण्ड निर्धारण गरिएको नगरपालिकाले जनायो दुई हप्ताभित्र मापदण्ड तयार गर्ने बताइएको छ । सडक मापदण्ड तयार नभएसम्म संरचना निर्माण कार्यसमेत रोक लगाईएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाले जानकारी दिए । ‘फलेवास नगरोन्मुख क्षेत्र भएकाले नयाँ बस्ती विकास गर्न पनि सडकको मापदण्ड तोक्न लागिएको छ,’ उनले भने । 

नगरपालिकाले हरेक सडक कम्तीमा दुई वटा सवारी साधन सहजरुपमा आवतजावत गर्न सक्ने गरी मापदण्ड तोकेको छ । नगरपालिकाले पुसको तेस्रो हप्तासम्म मापदण्ड तयार गरिसक्ने लक्ष्य लिएको नगरप्रमुख पदमपाणि शर्माले बताए । ‘अहिले सञ्चालनमा रहेका सडकको १५ १५ मिटर दायाँवायाँ फराकिलो वनाउने भन्ने हाम्रो लक्ष्य छ, उनले भने,’दुईवटा गाडी सहजै रुपमा आवतजावत गर्ने सडक वनाउँदा भोली वनेका घर डोजर लगाएर भत्काउन नपरोस भनेर हामीले यो निर्णय लिएको हौँ’ शर्माले भनेका छन् । 

मापदण्ड तयार गर्न नगरपालिकाको प्राविधिक शाखाका इन्जिनियर र ओभरसियर खटिएका छन् । ५० वर्षपछिको फलेवासको आवश्यकतालाई हेरेर नगरभित्रका सडकको मापदण्ड तोकिने प्रमुख शर्माको भनाइ छ । ‘अहिले थोरै मापदण्ड राख्दा भोलि समस्या नहोस् भनेर नयाँ बन्ने शहर भएकाले सोहीअनुसारको मापदण्ड तयार हुन्छ’, नगरप्रमुख शर्माले भने । 

फलेवास नगरपालिकाभित्र अहिलेसम्म झण्डै ३०० किमी कच्ची सडक बनिसकेको छ । कालीगण्डकी लोकमार्गमा पर्ने मुडिकुवादेखि पाङराङसम्मको सडक राष्ट्रिय राजमार्गको मापदण्डअनुसार राखिने भएको छ भने जैमिनुघाटदेखि खानीगाउँ, थापाठाना हुँदै कार्कीनेटा जोडिने सडकको मापदण्ड पनि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार नै तयार गर्ने योजना नगरपालिकाको छ । यसबाहेक सडक विभागले तोकेको मापदण्डका आधारमा भित्री र अन्य सडकको पनि मापदण्ड तयार हुने भएको छ । सडक मापदण्ड बनाइएसँगै विभिन्न निकायवाट यसलाई फिर्ता लिन दवाव आएको नगरपालिकाले जानकारी दिएको छ । 


सम्बन्धित समाचार ( मुख्य खबर)