जलजलामा ब्यक्तिगत घटनाको बिद्युतिय अभिलेख
admin     6 months ago     99
जलजलामा ब्यक्तिगत घटनाको बिद्युतिय अभिलेख


पुष ९ पर्वत-

जलजला गाउँपालिकाले अनलाइनमार्फत घटना दर्ता सुरु गरेको छ । पर्वतमै पहिलो पटक गाउँपालिकाले नौ वटै वडामा अनलाइनमार्फत घटना दर्ता सुरु गरेको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाको नौ वटै वडामा सफ्टवयर राखेर घटना दर्तालाई अनलाइनमार्फत घटना दर्ता सुरु गरिएको जानकारी दिए ।  

‘अनलाइनमार्फत पर्वत जिल्लामा पहिलो पटक ब्यक्तिगत घटना दर्तालाई ब्यवस्थित बनाउन थालिएको छ’ मल्लले भने । उनले हरेक नागरिकलाई पारदर्शि रुपमा सेवा प्रदान गर्नका लागि ब्यक्तिगत घटना दर्तालाई बिद्युतिय अभिलेखमा राख्न थालिएको बताए । ‘सम्भावित अनियमितता हुनबाट बिद्युतिय अभिलेखले रोक्ने अपेक्षा गाउँपालिकाको हो’ उनले भने । 

बिद्युतिय अभिलेखको शुभारम्भ गर्दै अध्यक्ष मल्लले अव कसैले पनि ब्यक्तिगत घटनामा जनप्रतिनिधि र कर्मचारीलाई झुक्याउन नसक्ने र पारदर्शिता कायम हुने बताए । गाउँपालिकाले वडा अध्यक्ष, वडा सचिव र सामाजिक परिचालकलाई तीन दिने तालिम दिएर अनलाइनमार्फत जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध बिच्छेदलगायतका काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले बताए । 

‘आइतबारदेखि अनलाइनमार्फत घटना दर्ता गर्नका लागि वडाअध्यक्ष, वडा सचिव र सामाजिक परिचालकलाई तालिम दिन सुरु गरेका छौ’ उनले भने–‘तीन दिन तालिम दिएपछि सबै वडा कार्यालयले ब्यक्तिगत घटना दर्ताको बिद्युतिय अभिलेख राख्नेछन् ।’ गौतमले कतिपय वडाले आइतबारदेखि नै ब्यक्तिगत घटनाको बिद्युतिय अभिलेख राख्न सुरु गरिसकेको जानकारी दिए । 

नौ वटा वडा रहेको जलजला गाउँपालिकाले आइतबारदेखि तीन दिनसम्म वडा अध्यक्षसहित ३० जनालाई घटना दर्ताका लागि तालिम दिन सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले बिद्युतिय अभिलेखले सामाजिक सुरक्षा बितरणमा पारदर्शिता बनाउने बताए । उनले बिद्युतिय अभिलेखले नाम, उमेरलगायतका बिषयबस्तु ढाट्ने, छल्नेलगायतका अनियमितता हुन रोकिने पनि जानकारी दिए । 

‘मुख्यत ब्यक्तिगत घटना दर्तातर्फ आम नागरिकलाई सचेत गराउदै राज्यले आम नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा बितरणमा पारदर्शिता गर्न बिद्युतिय अभिलेखले ठुलो काम गर्ने अपेक्षा गरेका छौ’ गौतमले भने ।