पोखरा–कुश्मा खण्डको प्रस्तावित सुरुङमार्ग र यसको वहुआयामिक महत्व
राजु पौडेल (rajunmci@gmail.com)     4 months ago
पोखरा–कुश्मा खण्डको प्रस्तावित सुरुङमार्ग र यसको वहुआयामिक महत्व
लेखक पर्वत उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हुन ।

संघीय नेपाल अन्तर्गत प्रदेश नं. ४ को राजधानी पोखरा भएको र पोखरामा चिनियाँ लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्माणको क्रम अघि बढिरहेको र पोखरादेखि कुश्मा–बागलुङ–बेनी–मुस्ताङ हुँदै कोरल्ला नाकाबाट सिधा व्यापारिक सम्बन्ध कायम गर्न चीन सरकार इच्छुक रहेको उसका यस अघिका अभिव्यक्तिबाट प्रष्ट हुन सकिन्छ । यद्यपि कोरल्ला नाका संचालन गर्ने र भन्सार कार्यालय राखी व्यापारिक कारोवार गर्ने सम्बन्धमा दुईदेश बीच हस्ताक्षर समेत भइसकेको छ ।

विषय प्रवेश र सान्दर्भिकता :

समय गतिशील छ, समयसँगै हामीपनि आफूलाई परिवर्तन गर्न सक्यौं भने हामी रहेभएको समाज समृद्ध बन्न सक्छ । विकासका कयन् चरणहरु हुन्छन्, अहिले शिक्षाको विकाससँगै सबैखाले विकासका ढोकाहरु क्रमशः खुल्दै गइरहेका छन् । सँगसँगै हामीले समृद्ध समाजको लागि विकासको परिकल्पना गर्नबाट चुक्नु हुँदैन । आज मानिस विकासको हिसावले जहाँ आइपुगेको छ यहाँसम्म आउन पनि यस भन्दा अघि कसैले परिकल्पना गरेरै यो सम्भव भएको हो । हाम्रा अग्रजहरुले परिकल्पना गरेको बाटो अख्तियार गर्दा नै समाजले आज समृद्धिको काँचुली फेरेको छ । हिजो चन्द्रमामा मानिसले टेक्ने कुरा कल्पनाभन्दा बाहिर थिए होलान्, मंगलग्रहमा उपस्थिति जनाउने कुरा कल्पना भन्दा बाहिर थिए होलान्, उड्ने र गुड्ने सबै कुरा कल्पना भन्दा बाहिर थिए होलान् तर यी सबै कुराहरु गरेपछि सम्भव भएका छन् । जसका कारण हामीले विकासको प्रचुर उपभोग गरिरहेका छौं अनि सारा विश्वलाई एउटा कोठाबाट नियाल्न सक्ने क्षमता राखेका छौं । 

जनताले विहान बेलुकीका चुल्हो जलाउन नपाइरहेको र इन्धन अभाव झेलीरहेका बेला ठूलो परिकल्पना गर्नुलाई धेरैले मजाकमा नउडाउलान् भन्न सकिन्न । तर हामी सधैं यही परिवेशमा यसरी नै पक्कै रहने छैनौं । भोलीको देश सम्हाल्ने चाँवी बोकेकाहरुलाई नयाँ–नयाँ सम्भावनाका बारेमा ध्यान केन्द्रित गर्न हाम्रो यो प्रयास पक्कै फलदायी हुनेछ । 

सन्दर्भ परिकल्पना कै हो । पर्वत उद्योग वाणिज्य संघले आजभन्दा तीन वर्ष अघिदेखि उठान गरेको विषय हो कुश्मालाई पोखरासँग छिटोछरितो जोड्ने । त्यसका लागि सम्भावव्यता अध्ययन गर्ने । कास्कीको नयाँपुलदेखि फेदी होस् वा पर्वतको ‘(दोविल्ला) डिमुवा देखि पामे (पोखरा) सुरुङमार्ग’ होस् त्यसको सम्भाव्यता अध्ययन गरिनुपर्ने विषय उठान भयो । जव पर्वत उद्योग वाणिज्य संघले यस परिकल्पनालाई प्रतिवद्धता पत्रमा समावेश गर्यो तव तीन वर्षे कार्यक्रममा समेत यसले प्राथमिकता हाँसिल ग¥यो । जसको फलस्वरुप पर्वत उद्योग वाणिज्य संघले जिल्ला विकास समिति पर्वत मार्फत नेपाल सरकार र राजनीतिक दलहरुलाई सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न र पार्टी तथा सरकारी निकाय मार्फत राष्ट्रियस्तरमा लविङ गर्न आग्रह गरेको थियो । संघले जुन विषय उठान ग¥यो त्यसलाई सम्भाव्यता अध्ययनका लागि जिम्मेवार निकायमा संस्थागत पहल पनि गरेको थियो । 

जसको फलस्वरुप नेपाल सरकारले मित्रराष्ट्रहरुको प्राविधिक सहयोग लिई नेपालका थप ५ ठाउँमा सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।  राज्यले पहाडी भूबनोटको कठिन यात्रालाई सहज बनाउन र यात्रा छिटोछरितो र सहज होस् भन्ने अभिप्रायका साथ नेपालका विभिन्न ५ ठाउँको सम्भाव्यता अध्ययन गर्न लागेको कुरा विभिन्न पत्रपत्रिकामार्फत बाहिर आएको छ । प्राप्त सूचना अनुसार भेरी ववई डाइभर्सन आयोजनामा चीनबाट आयात गरिएको सुरुङ खन्ने यन्त्र (टनेल बोरिङ मेशिन) बाट काम द्रुततर गतिमा अगाडि बढिरहेको छ । उक्त मेशिनले दैनिक २५० देखि ३०० मिटरसम्म सुरुङ खन्न सक्ने र यो कार्य नेपालमा यस अघि मानिसहरु लगाएर गरिएका निर्माण कार्यभन्दा धेरै सुपथ हुन जानेछ । त्यसैले सोही प्रविधिको प्रयोग गरी पहाडी ठाउँका घुम्ती सडकहरुलाई छोट्याउने अबधारणा अनुसार मन्त्रालयले छुट्टै शाखा गठन गरी सडक सुरुङ मार्ग निर्माणका लागि पहल थालेको हो ।

छिल्लो पटक पोखरा बागलुङ राजमार्ग अन्तर्गत कुश्मा पोखरा खण्डको सेक्सन, महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सेक्सन, वीवी राजमार्ग अन्तर्गत खुर्कोट सिन्धुली सेक्सन, टोखा रसुवागढी सेक्सन लगायतको अध्ययन भइरहेको छ । 

सबै परिकल्पनाहरुलाई छेकेर वा निस्तेज गरेर हामी समृद्धिको नयाँ युगमा प्रवेश गर्न सक्दैनौं । पर्वत जिल्लामा पनि सामान्य कल्पना भन्दा माथि उठेर गरिएका परिकल्पनाहरु क्रमशः साकार हुँदै गइरहेको तथ्य हामीसामु जगजाहेर छ । हिजो कुश्मा–ज्ञादी, कुश्मा–कैया र कुश्मा–सिर्सुवा जोड्ने पुलको कल्पना गर्दा पनि मानिसहरु असम्भव र वाहियात कुरा भनेर खिल्ली उडाउने गर्दथे तर यी विषय त्यति जटिल थिएनन् र रहेनन् पनि । त्यसैगरी कुश्मा–बलेवा केवलकार मोडलको यान्त्रिक पुल पनि तपाई हाम्रै अग्रगामी सोचको सामुहिक स्रुप हो । 

विकासको क्रम निरन्तर चलिरहने प्रक्रिया हो । यसै क्रममा हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा पनि केही न केही रुपमा विकासले फड्को मार्न खोजिरहेको छ । समाज विकासका हिसावले बामे सर्न खोजेको अनुभूत हुँदैछ । नेपाल मानचित्रमा सानो जिल्ला भइकन आफ्नौ छुट्टै अस्तित्व र प्रभाव जमाउन सफल पर्वत जिल्ला नाम जस्तो विकट नभएर एक सुगम जिल्लाको रुपमा परिचित छ ।  नेपाल भित्रिने पर्यटकको सर्वाधिक रोजाई रहेको पर्यटकीय नगरी पोखराको समिप रहेको यो जिल्लामा पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावनाहरु रहेका छन् । जिल्लालाई पोखरासँग सुरुङ मार्गबाट जोड्ने, स्थानीय÷वाह्य पर्यटन प्रवद्र्धन गर्दै उद्योग व्यापार फस्टाउन सकिने तथा यहाँका जनताको आमुल आर्थिक परिवर्तन ल्याउने उद्देश्यले पर्वत उद्योग प्रस्तावित सुरुङमार्ग सम्भाव्यता अध्ययन अवश्य प्रतिफलमुखी हुनेछ । 

काठमाडौंलाई फास्ट ट्रयाकबाट तराईसँग जोड्ने अभियान विगतदेखिनै चलिरहेको सन्दर्भमा प्रस्तावित प्रदेश नं. ४ को सम्भावित राजधानी पोखरालाई फास्टट्रयाक मार्फत धौलागिरि (कुश्मा, बागलुङ, बेनी, मुस्ताङ) सँग जोड्ने यो अभियान आर्थिक तथा व्यापारिक दुवै दृष्टिकोणबाट लाभदायक हुनेछ भन्ने हाम्रो बुझाई रहेको छ । यस अभियानलाई मूर्तरुप दिन धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत खण्डदेखि कास्की खण्डमा सुरुङ मार्ग अत्यावश्यक छ ।  हाम्रो भौगोलिक अवस्था, संघीय राज्यको संरचना, चीनसँगको व्यापार तथा अन्य वहुआयामिक महत्वका कारणले गर्दा यो मार्ग साँच्चिकै यस क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

संघीय नेपाल अन्तर्गत प्रदेश नं. ४ को राजधानी पोखरा भएको र पोखरामा चिनियाँ लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्माणको क्रम अघि बढिरहेको र पोखरादेखि कुश्मा–बागलुङ–बेनी–मुस्ताङ हुँदै कोरल्ला नाकाबाट सिधा व्यापारिक सम्बन्ध कायम गर्न चीन सरकार इच्छुक रहेको उसका यस अघिका अभिव्यक्तिबाट प्रष्ट हुन सकिन्छ । यद्यपि कोरल्ला नाका संचालन गर्ने र भन्सार कार्यालय राखी व्यापारिक कारोवार गर्ने सम्बन्धमा दुईदेश बीच हस्ताक्षर समेत भइसकेको छ ।  पोखरा आएका पर्यटकहरुको थप गन्तव्य भनेको पर्वत, बागलुङ, बेनी र मुस्ताङ नै हो ।  कुश्मा–पोखरा हालको दुरी ५८ कि.मि. रहेको छ । यो पहाडी भू–बनोट भएको र वर्षाका याममा अति जोखिमपूर्ण बाटो रहेकोले विकल्पको रुपमा अन्य बाटाहरुको पनि खोजी बेलाबेलामा हुने गरेको छ । कुश्माको नाका दोविल्लादेखि पोखराको पामेसम्म करीव १९ कि.मि. को दूरी रहेको छ भने धौलागिरिकै प्रवेशद्वाराको रुपमा हेरिने डिमुवाबजारदेखि पामेसम्मको दूरी करीव १७ कि.मि. रहेको छ  । त्यस्तै पोखरा कुश्मा खण्डको नयाँपुलदेखि फेदीसम्मको दुरी करीव ६ कि.मी. हुन आउँछ । यसरी सरसर्ती हेर्दा प्रस्तावित सुरुङ मार्गमा लगानी गर्ने हो भने कुश्माको जिरो कि.मि.बाट पोखराको जिरो कि.मि.मा २५ देखि ३० कि.मि.को दूरीमा जोड्न सकिने सम्भावना देखिन्छ ।

कुश्मा, बागलुङ र बेनीलाई पोखरासँग जोड्न सकियो भने पोखराको र धौलागिरिको मात्र नभई समग्र प्रदेश नं. ४ को पर्यटन प्रवद्र्धन तथा चीनसँगको व्यापार प्रवद्र्धनमा उल्लेख्य परिवर्तन आउन सक्ने प्रशस्त सम्भावनाहरु छन् । हाम्रो प्रदेशको मुख्य आयश्रोत पनि हाइड्रो र पर्यटन नै हो । पोखरादेखि मुस्ताङसम्मको पर्यटनलाई जोड्ने र राष्ट्रिय गौरवको रुपमा रहेको निर्माणाधीन कालीगण्डकी करिडोर तथा कालीगण्डकी लोकमार्गसँग प्रदेश नं. ४ को छिटो र सहज सम्पर्क विस्तार गर्न यो सुरुङ मार्ग अब्बल हुनेछ भन्ने अपेक्षा गरिएको छ । लागत तथा आम्दानीका हिसावले समेत कुश्मादेखि पोखरासम्मको दूरी ठ्याक्कै आधा घट्ने र कालीगण्डकी करिडोर बनेपछि तथा कोरल्ला नाका खोलेपछि यसको तुलनामा अत्याधिक सवारी साधन यसबाटो भएर गुड्ने भएकाले समेत प्रस्तावित सुरुङ मार्गको दीगोपनामा शंका गर्ने ठाउँ रहने छैन । 

सम्भाव्य सुरुङमार्ग एक परिचय :
धौलागिरिको प्रवेशद्वार डिमुवा तथा नयाँपुल आसपासदेखि फेदीसम्मको सडक केही उच्च पहाडी भूबनोटमा लम्पसार परेको छ ।  यस सडकमा वर्षायाममा अत्याधिक बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।  गतवर्ष मात्रै पनि यहाँको कमजोर भू–धरातलका कारण ठूलो पहिरो गई ठाउँठाउँमा अवरोध भएको र हप्तैपिच्छे २–४ दिन सडक अवरुद्ध भइरहेको हामी माझ जगजाहेर छ । यहाँको जमिन अन्यत्रको तुलनामा कमजोर खालको छ  । पानी परेपछि बग्ने खालको माटो भएकोले वर्षेनी पहिरो जाँदा यहाँको सडक समेत दिनानुदिन घाँघुरिँदै गइरहेको छ । नेपालका अन्य भू–भागको तुलनामा यस इलाकामा वर्षा समेत केही बढी नै हुने भएकाले सडक थप जोखिममा रहेको अनुमान गर्न कठिन छैन  ।  
प्रदेश नं. ४ को पोखरादेखि पश्चिमतर्फ ठूलो जनाधार रहेको क्षेत्र छ । समग्र धौलागिरिका बासिन्दालाई प्रदेशसँगको सिधा पहुँच विस्तार गर्न, चीनसँगको व्यापार व्यवसाय प्रवद्र्धन गर्न एवं धार्मिक तथा अन्य साहसिक पर्यटन वृद्धि गर्न समेत पोखरादेखि कुश्म्मासम्मको जोखिमपूर्ण यात्राको दूरी कम गर्नु जरुरी छ । यसको दीर्घकालीन समाधानका लागि समेत प्रस्तावित सुरुङ मार्ग अत्यावश्यक रहेको छ । 
कुश्मादेखि पोखरासम्मको हालको दूरी ५८ कि.मि. बढी रहेको छ भने सुरुङ मार्ग निर्माण पश्चात त्यो दूरी धेरै कम हुने देखिन्छ । मोटामोटी अध्ययन गर्दा (जिआईएसको सहयोगमा) पर्वतको दोविल्लादेखि पामेसम्मको दुरी १९ कि.मि. र डिमुवादेखि पामेसम्मको दुरी १७ कि.मि. रहेको रहेको छ भने अहिलेको सडकलाई पछ्याउँदै सुरुङ निर्माण गर्ने हो भने नयाँपुलदेखि फेदीसम्म ६ किलोमिटरको सुरुङबाट वारपार गर्न सकिने अवस्था रहेको    छ । यी सबै पक्षलाई विश्लेषण गर्दा यदि डिमुवा वा दोविल्लालाई आधार मानेर अध्ययन गर्ने हो भने सुरुङ बाहिर +सुरुङभित्र+पामेदेखि पोखरा सुरुङ बाहिरसम्मको दूरी कम्तीमा २५ देखि बढीमा ३० कि.मि. ठहर्न आउँछ । 
केही वर्ष अघिदेखि निकै चर्चामा रहेको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग जसरी केन्द्रको प्राथकितामा रहको छ त्यसैगरी प्रदेश नं. ४ को प्राथमिकतामा यो सुरुङ मार्ग रहने अपेक्षा धौलागिरिबासीको छ । काठमाडौं–हेटौंडा सुरुङ मार्गको कूल लम्वाई ५८ कि.मि. रहेको छ भने यसको अनुमाति लागत ३५ अर्व रहेको छ । सोही आधारमा यो सुरुङ मार्गलाई हेर्ने हो भने यसको सुरुङको लम्वाई १७ कि.मि. छ ।  तत्कालीन लागतका आधारमा १७ कि.मि. सुरुङ करीव १० अर्वको हाराहारीमा सम्पन्न हुने देखिन्छ तर अहिले महंगी धेरै बढिसकेकोेल त्यो सम्भावना न्यून छ तथापि सुरुङ निर्माण गर्नै नसकिने भन्ने हुँदैन । हाल यस सडकमा गुडिरहने सवारी साधनको चापलाई मध्यनजर गर्दा समेत १० वर्ष भित्र यसको लगानी रिटर्न हुने अर्थशास्त्रका विद्यार्थीहरुको बुझाई छ । यद्यपि निर्माणाधीन पूर्व–पश्चिम पहाडी लोकमार्ग निर्माण भएमा, भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा कालीगण्डकी लोकमार्ग निर्माण सम्पन्न भएमा र चीनको कोरल्ला नाका बाह्रै महिना संचालनमा आउने अवस्था रहेमा यस सुरुङ मार्गमा अहिलेको भन्दा चार गुणा बढी सवारी चाप हुने समेत अनुमान गरिएको छ ।  
सम्भाव्य सुरुङमार्गको महत्व :
पर्वत जिल्ला पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण र पर्यटन प्रवद्र्धनका हिसावले प्रशस्त सम्भावना बोकेको सानो जिल्ला हो । यहाँ पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावनाहरु लुकेर रहेका छन् । प्रस्तावित प्रदेश नं. ४ मा पर्ने यस जिल्ला र छिमेकी जिल्लाहरुमा पर्यटन प्रवद्र्धनको सम्भावनालाई उजागर गर्न र दयनीय बन्दै गइरहेको व्यापार व्यवसायलाई टेवा पु¥याउन सकिने प्रशस्त सम्भवनाहरु देखिएका छन् । धौलागिरिको नाकाको रुपमा रहेको यस जिल्लालाई सिधा र छोटो मार्गबाट पर्यटकीय उपत्यका पोखरामा जोड्न सकियो भने आम नागरिकले मात्र नभई सिंगो राज्यले यसबाट प्रशस्त लाभ लिन सक्ने प्रचुर सम्भावना छ । 

सुरुङ मार्गले यो भूपि शेरचन मार्गको विकाससँगसँगै यहाँका अन्य ओझेलमा परेका विकासका सम्भावनाहरुलाई अमूल्य टेवा पुग्ने कुरामा कसैको दुईमत छैन । भूपि शेरचन मार्गको दीर्घकालीन विकासका लागि दोविल्ला÷डिमुवा–पामे सुरुङमार्गको विकास अन्तिम विकल्प देखिन्छ । यदि त्यसो हुन नसक्ने हो भने पनि पोखरालाई कुश्मासँग सहज सडकपहुँच विस्तार गर्न नयाँपुलबाट फेदी सुरुङ मार्ग निर्माण हुनपर्छ ।

पोखरा एउटा रमणीय र पर्यटकीय शहर  पनि हो । जुन हाम्रो प्रदेशको राजधानीको रुपमा अगाडि आइरहेको छ । यससँग अर्को पर्यटकीय सम्भावना बोकेको उपत्यका (कुबाबे उपत्यका) कुश्मा–बागलुङ–बेनीलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार पर्वद्धन मात्र होइन, ढुवानी र समयको समेत बचत हुने र ओझेलमा परेको धौलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्छ । दुरीका हिसावले कुश्मादेखि पोखरासम्म ५८ कि.मि. रहेको छ । सामान्यतया एयर डिस्टान्सका हिसावले कुश्माको दोविल्ला आसपासबाट पोखराको पामेसम्म लगभग १९ कि.मि. र डिमुवादेखि पामेसम्मको लगभग १७ कि.मि. दुरी रहने देखिएकोले यदि कुबाबे उपत्यकाको कुनै एक विन्दुबाट पोखरा उपत्यकाको कुनै पनि विन्दुमा जोडिने गरी सुरुङ मार्ग निर्माण गर्न सकियो भने समय, ढुवानी र अन्य धेरै सम्भावनाका हिसावले महत्वपूर्ण हुने देखिन्छ । त्यो नगरेर हाइवे भइरहेकै ठाउँमा कास्कीको नयाँपुलबाट फेदी जोड्न सकियो भनेपनि दुरी कम हुने र जोखिमपूर्ण यात्रा गर्न नवपर्ने अवस्था आउँछ । अथाह सम्भावनाहरु बोकेको यस सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरी यस क्षेत्रकै आर्थिक समृद्धिको नयाँ ढोका उजागर गर्न राज्य र राजनीतिक दलको तत्परता अहिलेको आवश्यकता हो ।
उपलब्धी :
गण्डकी र धौलागिरी प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाका दृष्टिले समृद्ध क्षेत्र हुन् । यहाँका साधनस्रोतले सुगम यातायात,  उचित र पर्याप्त प्रचारप्रसार, सचेतनाको अभाव आदि विविध लुप्तगुप्त कारणहरुले मूल्य पाउन सकेका छैनन् । धौलागिरिको स्तरोन्नतिमा पोखरासँग जोडिएको यो भूपिशेरचन मार्गले पहिलो र अमूल्य योगदान पु¥याएको सत्यतथ्य सर्वविदितै छ । यो मार्गको स्तरोन्नति नभएसम्म यो क्षेत्रको पनि स्तरोन्नति हुन नसक्ने भएकाले यसमा सबैको गम्भीर रुपमा ध्यान पुग्नु अनिवार्य छ । यो सडकको प्रमुख दुःख भनेको नै डिमुवादेखि फेदीसम्मको घुमाउरो अनि खण्डहर अवस्थिति नै हो । धेरै पानी परिरहने, पहिरो गइरहने, जति मर्मत गरे पनि हिँडिरहने दलदले जमिनको कारण यो मार्गको यात्रा निकै कठिन बन्दै आएको छ ।

राजमार्गको यातायात नियमित र सहज हुन सकेको छैन । कठिन यातायातका कारण यहाँका अवसर र विकासका सम्भावनाहरुले पनि कठिनाई भोग्नु परेको मात्र छैन आफ्नो पूर्ण अस्तित्वसमेत गुमाउनु परेको छ । सुरुङ मार्गले यो भूपि शेरचन मार्गको विकाससँगसँगै यहाँका अन्य ओझेलमा परेका विकासका सम्भावनाहरुलाई अमूल्य टेवा पुग्ने कुरामा कसैको दुईमत छैन । भूपि शेरचन मार्गको दीर्घकालीन विकासका लागि दोविल्ला÷डिमुवा–पामे सुरुङमार्गको विकास अन्तिम विकल्प देखिन्छ । यदि त्यसो हुन नसक्ने हो भने पनि पोखरालाई कुश्मासँग सहज सडकपहुँच विस्तार गर्न नयाँपुलबाट फेदी सुरुङ मार्ग निर्माण हुनपर्छ । जसको नेपाल सरकारबाट सम्भाव्यता अध्ययन हुने क्रममा रहेको छ । सुरुङ मार्ग निर्माण पश्चात यस क्षेत्रको बासिन्दालाई मात्र नभएर समग्र राष्ट्र र छिमेकी राष्ट्रलाई समेत उल्लेख्य लाभ हुने कुरामा दुईमत छैन । सरसर्ती अध्ययन गर्दा प्रस्तावित सुरुङ मार्ग निर्माण गर्न सकिएमा निम्न उपलब्धीहरुको अपेक्षा गर्न सकिन्छ ।

  • प्रस्तावित प्रदेश नं. ४ को राजधानी एवम् पर्यटकीय शहर पोखरालाई चीनसम्म जोड्न दुरी छोटिन जानेछ ।
  • पूर्व–पश्चिम मध्यपहाडी लोकमार्र्गको दुरी समेत छोटिन गई पहाडी लोकमार्ग सहज र सरल हुने जानेछ ।
  • पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यसमेत अघि बढिरहेको र त्यहाँ संचालित पर्यटकीय व्यवसायहरु जस्तै ः प्याराग्लाइडिङ अन्यत्र सार्ने विषयमा समेत अध्ययन भइरहेकाले त्यस्ता सबैखाले व्यवसायहरु पर्वत भित्र्याउन सहज हुने देखिन्छ ।
  • कुश्मादेखि पोखरसम्म हाल ५८ कि.मि. सडक रहेको र उक्त सडक वर्षायाममा बढी जोखिमपूर्ण भएकोले सुरुङ मार्ग निर्माण भएमा जोखिम न्यूनीकरण हुनुका साथै बढ्दो सवारी चाप कम गर्न र २५ देखि ३० कि.मि.को छोटो दुरी कायम हुने देखिन्छ । जसका कारण समय र ढुवानीका दुवैका हिसावले समेत सर्वसाधारणलाई यथेष्ट फाइदा अपेक्षा गर्न सकिन्छ ।
  • कोरल्लादेखि कुश्मा, पोखरा हुँदै सुस्ता जोड्ने करिडोर छिटो छरितो हुने ।
  • पोखरा उपत्यका र कुबाबे (कुश्मा–बागलुङ–बेनी) उपत्यकालाई जोड्दा राज्यको विकासको पहुँच छिटो भन्दा छिटो सर्वसाधारणमा पुग्ने देखिन्छ ।
  • पोखरामा दिनहुँ भित्रिने हजारौं पर्यटकलाई थप आकर्षण गर्न र धौलागिरिमा पर्यटन प्रवद्र्धन गर्न सकिने देखिन्छ ।
  • भारत र चीनको व्यापारिक रुटको रुपमा कार्य अघि बढिरहेको कालीगण्डकी हाइवे तथा कालीगण्डकी करिडोरसँग प्रदेशको प्रस्तावित राजधानी पोखराले सिधा र छोटो समयमा सम्पर्क स्थापित गर्न सक्ने देखिन्छ ।
  • धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राको लागि पर्यटकहरुलाई थप आकर्षण गर्न सकिन्छ ।
  • धार्मिक हिसावले समेत महत्व बोकेका सेती–काली (सेती नदी र कालीगण्डकी नदी) का विषयमा समेत थप अध्ययन गर्न र अतिरिक्त योजना आकर्षित गराउन सकिन्छ ।प्रदेश नं. ४ को मुख्य पेशाको रुपमा रहेको पर्यटनलाई थप मुनाफामुखी, फलदायी र प्रभावकारी बनाउन सकिन्छ ।
  • हरेक यात्रामा समय, ढुवानी बचत, पर्यटन आकर्षण तथा उद्योगधन्दा संचालन तथा विस्तार गर्न थप टेवा पुग्ने देखिन्छ ।
  • हाल भइरहेका व्यापार व्यावसाय प्रवद्र्धन तथा यसको दीगोपन कायम राखिरहन सकिन्छ ।
  • कोरल्ला (चीन)–पोखरा (नेपाल) वहुआयामिक महत्व बोकेको सडक विस्तार गर्न, चीनसँगको व्यापारिक दूरी कम गर्न तथा अन्तर्राष्ट्रिय व्यापार व्यवासय विस्तार गर्न थप टेवा पुग्ने देखिन्छ ।
  • दक्षिणतिरबाट बेलाबेलामा भइरहने अस्वभाविक हस्तक्षेपबाट देश आक्रान्त भइरहेका बेला आफ्नो स्वाभिमान जोगाएर अन्तर्राष्ट्रियस्तरमा आयात तथा निर्यात गर्ने ढोका थप मजबुद बनाउन सकिने आधार निर्माण हुने देखिन्छ ।

निष्कर्ष :

नेपाल पर्यटन र जलविद्युतका क्षेत्रमा प्रशस्त सम्भावना बोकेको राज्य हो । यसमा पनि प्रदेश नं. ४ यी दुई कुरामा प्रवल सम्भावना रहेको प्रदेश हो । त्यसैले यस प्रदेशको राजधानी पोखरा र पोखराको आँगनको रुपमा रहेको धौलागिरिलाई सुरुङ मार्गबाट जोड्न सक्नु यस क्षेत्रको कायापलट हुनु हो । प्रदेश राजधानी पोखरा–कोरल्ला (चिन) नाका छोटो बनाउन र निर्माणाधीन कालीगण्डकी करिडोरसँग प्रदेश राजधानी जोड्न मध्य पहाडी लोकमार्गलाई फास्ट बनाउन, कोरल्ला, म्याग्दी, कुश्मा पोखरा भिमाद हुँदै भारत जोड्ने करिडोर छोट्याउन तथा पोखरा आएका पर्यटकहरुलाई धौलागिरि भित्र्याउन यो सुरुङ मार्ग अत्यावश्यक छ र छिमेकी राष्ट्र चीन समेत यस अभियानमा आफ्नो सहकार्य बढाउन सक्छ भन्ने विश्वास विद्वत वर्गको रहि आएको छ  । अतः सबैको चासो र खाँचोको यस परियोजनाको तत्काल सम्भाव्यता अध्ययन अहिलेको आवश्यकता हो भन्ने महसुस गरी जनताको नाममा राजनीति गर्ने राजनीतिक दलहरुले पहल कदमी लिउन् । हरेक विकास निर्माणका कार्यमा हाम्रो शुभेच्छा र शुभकामना रहिरहने छ ।