मेरो गाउँको कथा : बाच्छाट
डा. गोविन्दशरण उपाध्याय     6 days ago
मेरो गाउँको कथा : बाच्छाट
लेखक विहादी-२, पर्वत स्थायी घर भइ हाल त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्रको प्राध्यापन गर्छन् |

मेरो गाउँको कथा : बाच्छाट 

विहादिका (बराचौर र रानीपानी गाविस) का बारेमा मेरो ऐतिहासिक ज्ञान छैन भन्दा पनि हुन्छ | हामीले देखेको र भोगेको विहादी फाँट र जंगलका लागि प्रसिद्ध छ | वराचौरको वडा नम्बर १ (हाल विहादी-२) यस्तो वडा हो जसका १००% वासिन्दाहरू पराजुली छन् र त्यसमा पनि बाहुन मात्रै | विगत ३० वर्ष अगाडिसम्म यस गाउँका अधिकांस वासिन्दाहरू अशिक्षित थिए भने अहिले समयले कोल्टे फेरेको छ | हरेक घरमा कमसेकम स्नातकतह पढेको नयाँ पुस्ता अहिले सजिलै भेट्न सकिन्छ भने पेशागत आधारमा पनि शिक्षण, ब्यापार आदिमा सफलता प्राप्त गरेको जनशक्ति पनि अहिले यहा मनग्ये छ | महिलाहरूले पनि शिक्षाका क्षेत्रमा पहुँच बनाएका छन् र प्रत्येक घरमा ‘सबैले पद्नुनै पर्छ’ भन्ने चेतना ह्वात्त बढेको छ | यसैले होला, केही अभिभावकहरूले आफ्ना छोराछोरी सदरमुकाममा डेरा गरेर समेत ‘राम्रो अग्रेजी विद्यालय’मा पढाउन थालेका छन् | यो एकप्रकारको शिक्षाप्रतिको आकर्षण हो भने ‘अंग्रेजी’प्रतिको मोह पनि हो | यो गाउँले शिक्षाका क्षेत्रमा विद्यावारिधिसम्मको फड्को मारेको छ |

भारत वा खाडीमूलुकमा काम गर्न गएका अभिभावकको पैसाले गाउँको परम्परागत कृषि वा रहनसहनमा समेत फरक परेको मैले विगतका दशैहरूमा अनुभव गरेको छु | खासगरी यसले कृषि र पशुपालनको क्षेत्रलाई प्रभावित पारेको छ | विगत दशवर्षतिर लटरम्म कोदोका बाला र मकै देखिने बारीका पाटाहरू अव विरान बन्न थालेका छन् भने विगतमा १०-१५ बटा भैंसी, गाई-गोरू र बाख्रा पाल्ने परिवारहरू पनि ‘एउटा दूघ दिने भैसी’मा सीमित भएको छ | सम्भवत: पशुपालनलाई ‘वनपैदावार’मा गाविसले नियन्त्रण गरेर स्वतन्त्रतापूर्वक घाँस-दाउरा गर्न रोक लगाएपछि प्रभाव पारेको हुनसक्छ | तर बाहिरी आर्थिकस्रोत प्राप्त भएपछि ‘कामका लागि मरिमेट्ने’ परम्परागत प्रवृतिमा वदलाव आएको भन्ने कुरामा पनि शंका गर्न मिल्दैन | भरपर्दो आर्थिकस्रोत प्राप्त भएपछि मानिस स्वत: ‘कठोर परिश्रम’ बाट जोगिने र सुखी जीवन व्यत्तित गर्नेतिर लम्कनु प्राकृतिक तत्थ्य हो | 

आज ‘वाच्छाबट’का ८०%पुरुष युवाशक्तिहरू गाउँ बाहिर छन् भन्ने कुरा मेरा भाईहरूले मलाई जानकारी दिएका छन् | भारतको दिल्ली, मद्रास र खाडीदेशहरू रोजगारका प्रमुख गन्तब्य हुन् | धेरैजसो पुरुष युवाशक्ति तेतैतिर रहेर घरको लागि आर्थिक जोहो गर्छन् भने केही विद्यार्थी वा जागिरे वा ब्यबसायी बनेर काठमाडौँ, पोखरा र वुटवलतिर बसोवास गरेका छन् | असलमा भन्नुपर्ने हो भने गाउँमा बूढाबूढी, महिला र केटाकेटीमात्र छन् भन्दा फरक पर्दैन | अहिले पूरै गाउँ यिनैको भरमा छ | मर्दापर्दा समस्या देखिने ‘समय’ टाढा छैन भनेर बोलेको मैले पोहोरको दशैमा सुनेको थिएँ | त्यैपनि केही युवाशक्तिहरू गाउमै स-सानो उद्योग, पसल, खेतीपाती गरेर पनि आफ्नो जीवनचर्या चलाएकै छन् | भने मध्यलोक मार्गले केही गति लिने छन्को पाएपछि फाँटमा खेत हुनेहरू सुखी जीवनको आशामा त्यहीं घर बनाएर बसोवास गर्ने निर्णयमा पुगी ‘घर’ बनाउन थालेका छन् | केहीले लोकमार्गसंग जोडेर घर-टहरा बनाई ससानो ब्यबसाय समेत संचालन गरेका छन् |

गाउँको ‘जलक्षेत्र’ भनेर मानिने ‘पातल’मा एउटा प्राथमिक विद्यालय छ भने त्यही एउटा राममन्दिर पनि रहेको छ | ठूला-ठूला पीपलका रुख भएको पातलले ‘बिहादिको फाँटका’ लागि पानी आपूर्ति गर्छ | यद्यपि सो फाँटमा वडा नं. १ का वासिन्दाहरूको स्वामित्व थोरै छ | ‘बाच्छाबट’ नाम कसरी पर्यो यो गाउँको भनेर मैले बुझ्न खोज्दा कुनै पनि ‘पूरानो मान्छे’ले जवाफ दिन सक्नु भएन | त्यैपनि यस वडामा रहेको ठूलो जंगल र जलस्रोतलाई देखेर यस वडालाई परापूर्वकालमा ‘गाईको चरन क्षेत्रका’ रूपमा उपयोग गरिएको र कुनै रूखको फेदमा ‘गाईले बाच्छा जन्माए र गोठालाले त्यसको हेरचाह गरेको हुँदा यस गाउँको नाम ‘बाच्छाबट’ रहेको होला भन्ने मैले अनुमान गरेको छु | त्यैपनि ‘बाच्छाट’को अर्थका सवालमा विवाद रहन सक्छ | यो बडाको सल्यानमा बाहेक विहादिमा सल्लो छैन भने जंगल र पानीको हकमा पनि यो असाध्यै धनि छ | 

बाह्य आर्थिक स्रोत, मोबाइल, टेलीफोन, टेलिभिजन र एफएमहरूको पहुँचले मानिसको परम्परागत जीवनशैलीमा ठूलै सकारात्मक-नकारात्मक परिवर्तन ल्याउन सक्ने रहेछ | अहिले हरेक गाउलेका हातमा मोबाइल छ भने केही परिवारले टेलिभिजन र कम्प्युटरमा समेत पहुँच बनाएका छन् | सबैजसो घरमा चर्पी छ, केहीले गोबरग्यासमा भात पकाउछन् | जथाभावी जंगल मास्नु हुन्न भन्ने कुरामा चेतना बढेको छ | सरसफाईप्रति पहिले भन्दा जागरुकता छ | अन्धविश्वासका प्रथाहरू खुकुलो भएका छन् | तर प्रगतिशीलतासंग केही विसंगतीहरूले पनि जरो गाड्न थालेको छ | दशैँतिहारमा प्रेम र सद्भावको भन्दा ‘दक्षिणा’ बोलवाला भएको छ भने सम्वन्धहरूमा समेत एकप्रकारको कृत्रिमता देखिन थालेको छ | मेलापर्मजस्ता परम्परागत ‘सहयोगी’ कामहरूलाई कम महत्व दिन थालिएको छ भने ‘हरेक काम पैसा’ले गर्छ भन्ने जडताले मानिलाई ‘मानवीय मूल्य’बाट टाढा लग्न थालेको छ | आधुनिकताका नाममा ‘रक्सी’ र ‘लागूऔषध’हरूको प्रयोगलाई सहजरूपमा लिन थालिएको छ | परम्परागत विवाह भन्दा कम उमेरमै ‘प्रेम-विवाह’ गर्ने वा आफ्नै गोत्रको विवाहलाई पनि ‘सहज’रूपमा लिने कमसल मान्यताले घुमाउरो बाटोबाट प्रवेश गरेको छ | 

उत्तरमा फोक्सिंग खोला, पश्चिममा कालिगण्डकी, पूर्वमा खहरेखोलाले वडालाई घेरेको छ भने सालघारी, पैरे, सीम्ले, ल्यांग, गैरारी, दलानेडाँडो, पोखरामाथी, डहरमूनि, सल्यान, नेटा, पहरे र खर्क यस वडाका स्थानीय नाम हुन् | यस गाउँमा ५८ घरधुरी छन् भने बाहुन बाहेकको अर्कोजात यहाँ देखिन्न | हुन त मैले गाउँ छोडेको पनि धेरै भइसकेको रहेछ | घर फर्केर जाँदा हरेक ‘ठाउँ’ साँघुहरूको हिसाव किताव गर्न मन लाग्छ | प्रकृतिले वदलेका दोवहरूले भावुक बनाउँछन् | खरवारी र खेतहरू चहार्न मन पर्छ तर आफ्नो शरीर त्यसका लागि उपयुक्त रहेन भने कुनै बेला ‘केटो’ भनेर सुन्न अभ्यस्त रहेका कानहरू काका, जेठाजु, ठूला-वा जस्ता सम्वोधनलाई आत्मसात गर्ने पर्ने हुन्छ | मनको चाहना र वास्तविक जीवनमा सम्झौता गर्नुपर्छ | यही जीवनको वास्तविक सुगन्ध हो |

विहानी र बेलुका “भीरा-कपाल”को वेलको चौपारीबाट धौलागिरी, अन्नपूर्णा हिमाल समूहको मोहक दृष्यले मन तृप्त हुन्छ | “धुसेनी”बाट प्रकृतिले सजायका पहाडहरू र गण्डकीको नागवेली चाल देखेर स्वर्गको स्मरण हुन्छ | तेसै बेलको चौपारीमाथिको “भैसाखर्क” वा भैंसीखर्कका वारीका पाटा र खरवारीका पाखाबाट लहरे गतिमा पहाडहरूलाई चिर्दै अनन्तकालदेखि बगिरहेको काली गण्डकीको पवित्र तथा कृष्ण पानीले जन्मजन्मान्तरको पाप नाश हुन्छ | शालीग्रामलाई आफ्नो काखमा बोकेर हिड्ने गण्डकीमा स्नान गर्न “बाच्छाबट” जुनसुकै ठाउँबाट अधिकतम आधिघन्टा लाग्छ | प्राचीनकालदेखि नै ऋषिमुनिहरूले विष्णुका अवतार गण्डकीनन्दन शालीग्रामको आराधना गरेर मोक्ष प्राप्त गरेका थिए भने आज पनि “बाच्छाट”को हरेक मान्छेले “वौर”मा अग्निसमाधि लिन्छ र भगवान् शालीग्रामको सान्निध्य प्राप्त गर्छ | वौरमा झरेपछि हरेक व्यक्तिले आफ्ना पूर्वजहरूसंग प्रत्यक्ष सान्निध्य अनुभव गर्छ | 

“बाच्छाट” लेख्नमा र देख्नमा जति मीठो र मिजासिलो छ, व्याबहारिक जीवनमा अभावैअभावको भकारी छ | कोदाको बालासम्म तानेर खाने वांदर, गाईबाख्रालाई पलभरमा मार्ने बाघ र उकाली-ओरालीमा अल्झिएको जीवनशैली पक्कै सजिलो छैन | छरेको मकैकाले घोगा हालेपछि बाँदरले लुछेर लैजाँदा आँखाबाट बलिन्द्र झर्छन् | मैले पनि धेरै पटक सहेको छु | धान रोपेर रातिराति पानीका लागि दौडिनु पर्दा निंद विगार्नु पर्दा कसैलाई सुख हुँदैन | तेसमा पनि अभावमा वितेका जीवनका पानाहरू फर्केर आखाँमा तेर्सिन्छन् | तेसमा पनि बर्षभरि कठोर परिश्रम गरेर पनि खान नपुग्नु अझैं गहिरो घाउँ हो | विहान ४ बजेदेखि प्रारम्भ भएको “जीवन सङ्घर्ष” राति ११ बजेसम्म चल्छ, चलिनै रहन्छ | थोत्रा लुगा, जूताचप्पलरहित खुट्टा, आँसीले काटेका हातका औंला, कोदालोले ठुँगेका खुट्टाको कष्ट भोग्नेलाई थाहा हुन्छ | “बाच्छाटे”ले यो सबै भोग्नुपर्छ, भोगिरहेका छन् | 

शहरी जीवन विताउनेहरूका लागि गाउँ जति सिधासाधा र प्राकृतिक देखिन्छ, असल जीवनमा त्यहाको परिश्रमको कहाली उदेक लाग्दो हुन्छ | एउटा-एउटा गरेर रोपेको धनको बाला होस् अथवा कोदाको बीऊ झोपामा पाखुरीको अथक परिश्रम र गर्मीले पलाएको पसीना लुकेको हुन्छ | हरेक पाइलामा पसीना, परिश्रम र जीवन जीउनका लागि गरिएको आर्तनाद लुकेको हुन्छ | लटरम्म फलेको धान, मकैले वर्षभरी खान नपुग्नेहरू गाउँमा थुप्रै छन् | शहरी आखाँले यो कुरा कहिलै देख्दैन | गाउँहरू देख्न जति सुन्दर छन्, आदर्शमय छन् जीवनप्रणाली उत्तिकै कठोर छन् | यो कठोर सत्यबाट ‘बाच्छाबट’ पनि परे छैन | अहिले पनि बाच्छाबटको जीवन चक्र यसै गरी चलिरहेको छ | त्यैपनि यसले हामीलाई तान्छ किनभने जीवनलाई धरतीमा ल्याउने ‘जन्मथलो’ हो ‘बाच्छाबट’ आमाको माया हो, बा र पूर्खाको आशिर्वाद हो बाच्छाबट | खहरेखोलाका ऐसलु, पाखाको चुत्रो, पातालको दौड, बेलौतिका रुखको पिंग र आपका रूखको कमिलाको टोकाई हो ‘बाच्छाबट’, त्यसैले मेरो जीवनको सबैथोक हो : बाच्छाबट |