समय परिवर्तनशील छ । जसरि प्रकृतिमा समयले ऋतु हरु बदलीरहन्छ त्यसरी नै जिन्दगि मा पनि परिवर्तन हरु भईरहन्छन । प्रकृति यौटै चक्रमा घुम्छ तर जिन्दगि कुनै म्युजिकल चेयर जस्तो यौटै चक्रमा नघुम्दो रहेछ ।जीवन एउटा यात्रा र हण्डर, ठक्कर अनि चोट हरु त्यो यात्राका कोशेढुंगा हरु हुदारहेछन । आफुले जिन्दगि व्यतित गर्दा खाएका हण्डर हरु सम्झिनु, ठक्कर हरु गन्नु र चोट हरु सुम्सुम्याउनु पनि जिन्दगि कै एउटा अभिन्न पाटो हो । त्यतिबेला बल्ल बुझिने रहेछ संसारमा सबै भन्दा ठुलो औषधि त समय रहेछ । समयको मल्हम लगाउन सकियो भने गहिरो भन्दा गहिरो घाउ पनि निको हुने रहेछ ।
प्रशव बेदना पछिको खुशियाली जति संतोषजनक हुन्छ त्यस्तै एक किसिमको बर्णन गर्न नसकिने खुशी प्रदान गरेको छ यहुदी संसार ले मलाइ । समयलाई भगवान मान्ने हो भने पक्कै यो बाटो भगवान ले नै तय गरिदिएका हुन भन्न मलाइ अलिकति पनि संकोच लाग्नेछैन । आस्था मा मान्छे कति गम्भीर हुदोरहेछ भन्नेकुरा आफैलाई टटोल्दा थाहा भैहाल्छ । भगवानमा आस्था र परिश्रममा बिश्वास गर्नेहो भने जतिसुकै ठुलो दुखको खाडल बाट पनि सकुशल बाहिर निस्कन सफल हुन्छ मान्छे । यो कुरा बुझ्न हामी यहुदी बस्तीमा परिश्रम गरिरहेका दाजुभाई दिदीबैनी हरुले आफ्नै हिजो र आजलाइ अन्तर्मन बाट नियाल्ने हो भने बुझ्न सकिहाल्छौं ।
हुन त सबैको परिवेश यौटै हुदैन । कोहि सबैकुरा पुगिसरी भएर पनि थप प्रगतिको लागि आएका हौंला यो सात समुद्र पार को मुलुकमा । कोहि अभावको परिस्थिति लाइ चिर्न र केहि सुखका किरण हरु खोज्न आएका हौँला यो बिरानो ठाउमा । जे जसरि आएपनि बिगत भन्दा केहि राम्रो बर्तमान र केहि उज्जल भविष्यकै खोजीमा आएका हुन्छौं हामीहरु । आज यहुदी बस्ति र यहुदी समाज ले मलाइ के दियो भनेर लेखाजोखा गर्ने हो भने एकै वाक्यमा सकिन्छ कुरा । मलाइ यहुदी परिवेशले यहुदी राज्यले, यहुदी समाज ले एउटा “नया जिन्दगि दियो” । र एउटा नया जिन्दगि ले मेरो जीवनमा के के आशा हरु लिएर आयो ति कुरा हरु लेख्नु भन्दा अगाडी कुन कारण बाट कुन परिस्थिति को कारणले अथवा आफ्नो कुन अवस्थालाई छोडेर मा यहा आए भन्ने कुरा लेखिनु जरुरि हुन्छ । त्यसैले म मेरो प्रथम पाइलो लाइ स्मरण गर्न चाहान्छु ।
मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो, सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावना हरु खेलिरहेका मात्र थिए । अनगिन्ति पिडा हरुको बाबजुद मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपुर्ण कुरा थियो मेरो लागी ।
सामाजिक, नैतिक समस्या हरुमा जेलिएर एउटा मनोबैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन सक्दैन रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरेरै आफ्नो जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भन्ने कुरा मैले महसुस गर्दा समय निकै घर्किसकेको थियो । लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउनुपर्ने दुख पाइरहेको कुरा मैले बुझ्ने समय आउदा मलाइ आफुले धेरै ढिलो कुरा बुझेको मा आत्मा ग्लानि हुन सुरु भैसकेको थियो । फेरी पनि म मेरा दुखको निराकरणको खोजीमा र मेरा साना साना नाबालक छोरी हरुको भविष्यको खोजीमा म देश छोडेर बिदेश पलायन हुन विवश हुदैथिएँ ।
म बैदेशिक रोजगारीको बाटो खोज्दै केही महिना पहिले एजेन्सीको सहयोग बाट इजरायल जानको लागी तयारी गरेकी थिएँ । दशैको समय थियो । मेरी ठुली छोरी पाँच बर्षकी र सानी छोरी तिन बर्षकि हुँदै थिए । मन भरी पीडाले एकछत्र रजाईं गरेको भए पनि अर्को बर्ष छोरी हरु संग दशै मनाउन पाउदिन होला भन्दै उनि हरुको साथमा रम्ने कोसिस गर्दै थिए ।
एजेन्सी मार्फत मलाई पुर्व सुचना आईसकेको थियो । ईजरायलको भिषा निस्किन सबै प्रकृया तयारी अबस्थामा रहेको हुदा मलाई पनि तयारी अबस्थामा रहनको लागी एजेण्टले जानकारी गराईसकेका थिए ।
त्यति बेला दशै र तिहार छोरी हरु संग मनाएँ । पर्व हरु सकिए । तिहारको लगत्तै मेरो भिषा पनि आएको खबर पाएँ । मेरा छोरी हरु संगको मेरो दशैंको खुशी अचनाक शोकमा बद्लियो ।एकातिर आफुलाई अथाह दुखको भुमरी बाट पार लगाउने एकमात्र बिकल्पको ढोका खुलेको छ अर्को तिर कल्कलाउदा दुधे सन्तान लाइ चटक्कै छोडेर हिड्नुपर्ने अवस्था आइपर्यो । मैले मन भरी अथाह पीडा महसुस गरें । छोरी हरु सानै छन् । अहिले सम्म राम्रोसंग आवाज समेत निस्केको छैन । म जतिसुकै पिडामा हुदा पनि अथवा जस्तो सुकै सास्ती भोग्न परेको अवस्थामा पनि मेरी छोरी हरुलाई मेरो काख बाट टाढा गरेकी थिईन । जस्तो सुकै पीडा र समस्यामा समेत टाढा नगरेका आफ्ना मुटुका टुक्रा लाइ बर्षौंको लागि छोडेर टाढा हुने मेरो दिन नजिकिदै थियो ।
म इजरायल जाने दिन नजिकिदै थियो । तिहारको पाँच दिन पछि गाउँ हुँदै सदरमुकाम र त्यस पछि काठमाडौको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका समान्य लुगा हरु मिलाएँ र छोरी हरुलाई सुताएँ ।
सधैं जसो आज पनि छोरीहरु संगै सुत्ने प्रयास गरें ।मेरो निद्रा हराएको थियो । सानो छोरी मेरो छाति तिर छामछुम पार्दै थिई । ती कोमल हात हरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलि देखि यो छातीको न्यानो देखि बिमुख हुदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तान सुस्तरी चुस्दै थिई ! मेरो मन भरिएर ब्याकुल बनेको थियो । आँखा बाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडाको फेर समातेर गहिरो निद्रामा थिई । म सानो छोरीलाई निदाउने बनाउने प्रयत्नमा थिएँ । मेरो आफ्ने निद्राको भने सुदुर क्षितिज सम्म कुनै नामोनिसान थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो जुन भक्कानो लाइ फोडेर म छोरी हरुको निद्रा खल्बल्याउन चाहिरहेको थिईन ।
जवर्जस्ती रोकिएको रुवाई र पहिरोले थुनिएका नदि उस्तै हुनेरहेछन । जतिबेला पनि फुट्न सक्दारहेछन मैले निरन्तर प्रयास गर्दै थिए कतै नपोखिउन यी पिडाका भावना हरु, यी बिछोडका तडपाई हरु !
मिर्मिरे उज्यालो हुन थाल्यो ! भालेले डाक छोड्ने बेला हुन लाग्यो । भालेको डाको संगै मेरो रुवाई पनि नाफुत्कियोस भनेर मैले दाँतले कपडालाई दह्रो संग च्यापें । बिस्तारै चराचुरुङ्गी कराउन थाले ! छोरी परदेशिने पीडाले बुवा आमा पनि मर्माहत हुनुहुन्थ्यो सायद त्यसैले वहा हरु पनि रात भरि सुत्न सक्नुभएको थिएन ।
भालेको डाक संगै आमाले सुस्तरी साउती गरेर मलाइ उठाउनुभयो र तयार हुन अह्राउदै छोरी हरु नब्युझीउन भनेर सचेत गराउनु भयो । छोरी हरु न उठ्दै मैले घर छोडीसक्नु पर्ने थियो । म हिड्ने बेलामा नानि हरु रोलान र त्यो रुवाईले मलाइ बिचलित बनाउला भनेर आमाले मलाइ नानि हरु न उठ्दै साईत गर्न सुझाउनु भएको थियो । मैले मेरो भक्कानो किलकिले मै दबाएँ । भित्र घाँटीमा नराम्रो संग पोले जस्तो अनुभव भयो, मेरो नाक पुत्तायो र आँखा बाट फेरी एक तहरो झरी बर्षीयो ।
म उठेर तयार भएं । तयार त के हुनु थियो र लिएर हिड्ने झिटी गुन्टा तयार नै थियो । खालि काखमा रहेका छोरी हरुलाई भुईमा राख्नु बिसाउनु बाकी थियो । मैले त्यो पनि गरें र उठेर हिड्न तयार भएँ ।
सानी छोरी मस्त निद्रामा थिई – उठेर हेरें सपनामै दुध चुस्दैछ उ । दुईटा ओठ अगाडी ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होलि । मेरो छाति रसायो, मलाइ एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडी मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहें ।
जब मेरो घर छोड्ने बेला हुँदै थियो ठुली छोरीलाई निद्राले छोड्यो उ ब्युझेर उठी । प्राय मैले ओछ्यान छोड्दा संगै बिउझिने बानि छ उसको । सायद काखको न्यानोमा निदाउने बानिले हो कि । म उठे पछी मेरै लुगाको फेर समातेर पछी लागि रहन्छे । उसले अचानकै सोध्न थाली ममि हजुर कहाँ जान लाग्नु भएको भनेर । अहिले बैनी उठ्छे र रुन्छे त्यसैले उसलाई पनि संगै लिएर जाम भन्न थालि । उसलाई अहिले सम्म पनि आफ्नी आमा एक्लै कतै सुदुर परदेशमा आफ्नो सुनौलो भविष्य खोज्न जान लागेकी हो भन्ने पत्तोफाट थिएन । बरा निर्दोष मेरी छोरी आफु पनि आमा संगै जान लागेको आभाष ले रमाउन थालि र संगै बहिनि लाइ पनि लिएर जान आग्रह गर्न थालि ।
उस्ले यति शब्द मात्र खसाल्न के लागेकी लामो समय देखि मैले हिम नदि झैं बनाएर जवर्जस्ती रोकेर राखेका मेरा आशुले मेरो धैर्यताको बाध फोड्दै झर्न थाले ! पिडा र ब्यथा हरु चीत्कारिदै निस्किन थाले ।
ठुलो नानु लाई बिस रुपैयाँ हातमा थमाउदै मैले उसको लागि हेलिकप्टर र बैनीको लागि गाडी लिन जान लागेको भनेर बैनिको ख्याल गर्नु भनेर सिकाएँ । आज्ञाकारी मेरी छोरी ले आफु सफा भएर बस्ने र कसैलाई दुख नदिने अनि बैनीको ख्याल गर्ने भन्दै निर्दोष वाचा हरु गर्न थालि । कति ज्ञानी मेरी छोरी भन्न मात्रै लागेकी के थिएं नानू पनि सङै रुन पो थालि । मेरो छातीमा अचानक ठुलो जाँतोले थिचे जस्तो भयो । भक्कानिएर रोएर आफैलाई रित्याउँन पनि नमिल्ने के गरूँ ...दुइ टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीहरुको सुनौलो भविष्यको लागि सुदुर परदेशको यात्राको लागि घर बाट बिदा भएँ ।
घर बाट हिंडेपछी हवाईजहाज नचढुंन्जेल को कहानी बर्णन गर्ने हो भने एउटा सिंगो सिनेमाको पटकथा तयार हुन्छ अहिले त्यतातिर नजाम ।समय परिस्थिति मिलेमा फेरी लेख्नेछु । हरेक विदेशिएको मान्छेको मनमा बिदेशमा आफ्नो कामको सुरुवाती समयमा एक न एक पटक आफ्नो पुरानो र नया दिन हरु सम्झने र मुल्यांकन गर्ने समय आउदो रहेछ । माथि बर्णन गरेको परिस्थिति बाट अचानक नया परिवेशमा पुगेका हामीहरु जुनसुकै परिस्थिति लाइ सामना गर्नै पर्ने परिस्थिति मा हुन्छौं र चुपचाप परिस्थिति हरु संग सम्झौता गर्छौं पनि । नत्र हाम्रा कतिपय अवस्था हरु अंग्रेजी शब्दले अर्थ्याउदा मात्र मिठा सुनिन्छन । “डोमेष्टिक हेल्पर र केयर गिभर” शब्द हरु नै हाम्रा वर्तमान र हुन् जसले हाम्रो भविष्य मात्र नभएर हाम्रा सन्तानको भविष्य समेत निर्धारण गर्ने तागत राखेका छन् । यहि नै कर्म हो र म कर्म मा पुरा पुरा बिश्वाश गर्दा
नेपालको परिवेश अलिकति फरक थियो । आफ्नै मानो उब्जनी हुने जमिन भएका हरुले अरुको जमिनमा गर्ने काम लाइ अर्मपर्म भनिन्छ भने आफ्नो जमिन नहुने ले अरुको मा गर्ने काम लाइ “निमेक” भनिन्छ । अर्मपर्म को राम्रै इज्जेत भएपनि निमेक गरेर खानेको इज्जत गर्न अझै सकेको छैन हाम्रो समाज ले । निमेक गरेर खानु, आफ्नो कामको उचित ज्याला पाउनु र हरेक काम को बराबर को सम्मान हुन्छ भन्ने कुरा बुझ्नु मलाइ यहुदी समाजले सिकाएका महत्वपुर्ण कुरा हरु हुन । मेहनत गर्न लाज मान्न हुदैन र ईमान्दारी पुर्वक मेहनत गरियो भने एक न एक दिन उज्यालो किरण आउनेछ र जिन्दगीको अध्यारो बिस्तारै हराउनेछ भन्ने कुरा पनि मलाइ यहि समाज ले कहिले नमेटिने गरि सिकाएको छ ।
अतः म धेरै धेरै धन्यबाद दिन चाहान्छु यो समाज लाइ, यो देश लाइ जसले मलाइ उज्यालो भविष्य मात्र दिएन समाजमा आफ्नो प्रतिष्ठाको रक्षा कसरि गर्ने भन्ने पनि सिकायो । संघर्ष गर्न मात्र सिकाएन, संघर्ष पछिको उपलब्धि को रक्षा गर्न समेत सिकायो । मान्छे नै हुँ भन्ने अनुभूति मात्र गराएन-मान्छे भैसकेपछि जिन्दगि बाच्ने न्युनतम तरिका समेत सिकायो । परिस्थिति संग हारेर जीवन त्याग्ने बिचार आउने मनमा बाचे मात्र परिस्थिति लाइ पराजित गर्न सकिन्छ भन्ने पाठ सिकायो । समग्रमा मलाइ यहुदी समाजले मेरो कर्म थलो ईजरायलले डटेर बाच्न सिकायो र बाच्नको लागि डटेर कर्म गर्न सिकायो ।