एउटा क्रान्तिकारीको वयान
ओमप्रसाद घायल     1 month ago
एउटा क्रान्तिकारीको वयान

'कर'का लागि कर गर्नुनै छ
किनकि विछ्याउनु छ महारानीको दरवारमा नयाँ गलैंचा
बनाउनु छ - मन्त्रीको क्वाटरमा अत्याधुनिक 'जीमहल'
र फेर्नुछ वाथरूमको सौन्दर्य ।
जनताको अगेनामा आगो बल्नु र नबल्नुमा
सरकारको के दोष !
सरकारले त केवल
क्रान्तिको अद्भूत सपना देखाउनु छ
गाउँघरमै कल्पनाको रेल ल्याउनुछ
नदीमा पानीजहाज चलाउनु छ
र नक्सामै भएपनि बनाउनु छ - नयाँ नेपाल
स्थापना गर्नुछ केबल- सर्वहारावर्गको अधिनायकत्व ।

तर नागरिकहरू
सरकारको अग्रगामी कर्मलाई देख्दैनन्
प्रशंसा गर्दैनन्, ताली बजाउँदैनन्
बरू ३३ केजी सूनको कुरा गर्छन्
निर्मलाको न्यायको कुरा उठाएर दिक्दार पार्छन्
बालुवाटारको कुरा उठाउँछन्
वाइडबडीको नारा लगाउँछन्
यिनले देश बदलिएको देख्दैनन्
भेष बदलिएको देख्दैनन् ।

आखिर परिवर्तन त भएको छ त देशमा
सरकारले कमिशनकोआकार बढाएको छ
भ्रष्टाचारको प्रकार बढाएको छ
भोज र मोजको संस्कार बढाएको छ ।
फेरिपनि सत्ताको सराप नगरी खाना नपच्नेहरू
माइतीघरमा जुलुश निकाल्छन्
बानेश्वरमा टेवुल ठटाउँछन्
र टुँडिखेलमा टायर सल्काउँछन् ।

हिजो चप्पल लगाएर काठमाडौं छिरेका हामीहरू
आज हेलिकप्टरमा केक बोकेर 'बर्थडे' मनाएका छौं
सँधै साझा बसको पछिल्लो सिटमा बसेर यात्रा गर्ने
हाम्रो संगठनका कमरेडहरु
आज 'प्राडो' र 'पजेरो' चढ्नुभएको छ
श्रीमतीलाई सांसद बनाएका छौं
भतिजलाई 'पिए' बनाएका छौं
ज्वाइँलाई 'जिएम' बनाएका छौं ।
आखिर हामीले के गरेका छैनौं ?

हाम्रो रहनसहन बदलिएको छ
पुरानो दिनचर्या बदलिएको छ
फेरिपनि हाम्रो प्रगतिका बाधकहरू
ज्वरोमा सिटामोल पाएनौ भन्दैछन्
भोकमरीमा चामल पाएनौं भन्दैछन् ।

जनताको भोट हामीसँग छ
तस्करहरुको नोट हामीसँग छ
सत्ता हामीसँग छ
शक्ति हामीसँग छ
त्यसैले तिम्रो विरोधको श्वरले
रोकिँदैन हाम्रो क्रान्तिको यात्रा ।

लेखक नेपाल महासंघ पर्वतका पूर्व अध्यक्ष एवम् रेडियो शालिग्रामका स्टेशन म्यानेजर हुन् ।