घटना आजभन्दा ११ बर्ष अगाडीको हो । मेरो मनसपटलमा अझै पनि ताजा छ । कुश्माबाट आमा र म घर फर्किदै थियौँ । बाटोमा एक जना मुसलमान दिदिको पसल थियो । आमासँग राम्रो चिनजान भएका कारण ति दिदिलाई कान्छी सम्बोधन गर्नुहुँदोरैछ । दिदि भित्र अगेनामा बसेर सेल रोटी हाल्दै हुनुहुन्थ्यो । दिदिले हामीलाई भित्र बोलाउनु भयो । हामी भित्र प¥यौँ । एकछिन बसौँ । हामी त्यहाँवाट निस्कन खोज्दा दिदिले रोटि खान आग्रह गर्नुभयो । आमाले मान्नुभएन् । मलाई सेल रोटी देख्दा साथ कति बेला खाउँ जस्तो लागेको थियो । नभन्दै दिदिले हिड्ने बेलामा २ वटा सेल रोटी हातमा थमाईदिनु भयो । मैले बाहिर निस्केर खाएँ । एकछिन पछि आमाले भन्नुभयो । रोटि किन खाएको ? मैले जवाफ दिए, ‘के हुन्छ र ?’ आमाले भन्नुभयो,‘तिनीहरु हामी भन्दा सानो जाती हो, उनीहरुले छोएको हामीले खान हुँदैन ।,’ आमाको उक्त प्रश्नले मलाई झसङ्ग बनायो ? मैले भने ‘हामीलाई सानो जात भनेर सबैले हेला गर्छन हामीले पनि सानो जात भन्दै हेला गर्न थाल्यौ भने हामी भित्रको जातीय छुवाछुत कहिले हट्छ ? आमा उक्त जवाफ पछि बोल्नु भएन् । आमालाई जातीय विभेदको परिभाषा थाहा थिएन् होला । तर, छुवाछुतको पीडा उहाँले पनि नभोग्नु भएको चाँही पक्कै होईन । आमालाईे छुवाछुत भनेको केहो ? यसले समाजमा कस्तो असर गर्छ ? छुवाछुत अन्त्यको लागि के गर्नुपर्छ भन्ने कुरा कसैले सिकाएनन् । सिकाए त केवल दमै भन्दा कामी र सार्की ठुलो हो । यि जात भन्दा ब्राह्मण लगायत अन्य जात ठुलो हो । उनीहरुले खाने कुरा छोईदिए हामीलाई पाप लाग्छ र हामीले सजाय भोग्नुपर्छ भन्ने कुरा सिकाए । आमाले हामीलाई पनि त्यही कुरा सिकाउनु भयो । तर मलाई लाग्थ्यो समाजमा देखिएको जातीय विभेद हाम्रै पालमा हटाउनु पर्छ । म त्यस तर्फ उन्मुख पनि थिए । सानै भएपनि समाजमा देखिएको जातीय विभेदका विषयमा आवाज उठाउँदै आएको थिए ।
एक दिन साविकको खानीगाउँ गाविसमा सार्वजानिक सुनुवाई थियो । म बालक्लवको प्रतिनिधित्व गरेर गएको थिए । चिया खाने समय भयो । मेरो छेउमा बसेको विश्कर्मा दाई उठेर जानुभयो । बाहिर गएर अन्तिममा चिया मागेर खानुभयो । मैले उहाँलाई प्रश्न गरे,‘तपाई मेरो छेउमा बसेर किन चिया खानुभएन ? उहाँको उत्तर थियो,‘ति सबैको अगाडी मैले तेरो छेउमा बसेर कसरी चिया खानु’ मलाई फेरी भोली के भन्छन् ? पुर्खाहरुले चलेको चलन त मान्नुप¥यो नि । उनको उत्तर सुनेर म अच्चमित भएँ । सायद छुवाछुत हामी भित्रै छ । पहिला हामीले हामी भित्रको छुवाछुत हटाउन सकेनौँ भने यो छुवाछुत प्रथा जिवन्त रहन्छ भन्ने मैले त्यस दिनदेखी सोचे । मलाई लाथ्यो मेरो आमा अशिक्षीत हुनुहुन्थ्यो त्यसैले त्यसो कुरा भन्नुभयो । मलाई गाविसको घटनावाट लाग्यो मेरो आमा मात्र होईन यो समाजका कयौँ व्यक्ति पनि अशिक्षित रैछन् । पर्वत जिल्लाको सन्दर्भमा पनि हिजो एक पुस्ताले जातिय विभेद हटाउन संघर्ष गरे । आजको पुस्ताले पनि संषर्घ गरिरहेको छ । तर, आफुभित्रको जातिय विभेद हटाउन हामीले पहल गरेनौँ भने अब आउने पुस्ताले हामीले जस्तै नियती भोग्नुपर्ने छ । जिल्लामा पनि दलित भित्र जातीय खाण्डल निकै गहिरो छ । यहाँपनि दमै,कामी र सार्की बिच निकै विभेद भएको पाउँछौँ । दलित भित्र पढेलेखेका, सचेत बर्गलाई समेत यस बारे बास्तकिक र ब्याबहारिक शिक्षित मानव बनाउनु चुनौतिको तगारो बनेको छ । त्यसैले अवको संघर्ष हामी आफै भित्र गर्नु छ ।
जातीय विभेद गर्नु अपराध हो । मानिस बिच यस प्रथाले ठुलो खाडल सृजना गरेको छ । यसको अन्त्य गर्नु पर्छ । फेरी यो जातीय छुवाछुत प्रथा अन्य जातीमा नभएको पनि होईन । तर दलित समुदाय यसको सिकार हुँदै आएको छ । रुकुम र जाजरकोटको घटना पनि यसै विषयबस्तुमा जोडिएको देखिन्छ । जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँनिवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न साथीसहित शनिबार रुकुमको चौरजहारी स्थित सुस्मा ठकुरीको घरमा पुगेका थिए । तर, स्थानीयले दलित भन्दै संगठित आक्रमण गरेर हत्या गरिदिए । उक्त घटनामा ६ जना युवाको हत्या भएको छ । त्यति मात्र होईन अन्तर जातीय विवाह एवं प्रेम सम्बन्ध राखेको र दलित भएकै कारण विगतमा काभ्रेका आजित मिजार, सप्तरीका शिवशंकर दास, झापाकी अस्मीता तोलाङगे सार्की, तनहुँकी संगिता परियार, सिन्धुपाल्चोककी माया तिरुवा, म्याग्दीकी सविता नेपाली लगायतका दलित युवा युवतीहरुको शृश्रलाबद्ध रुपमा हत्या गरिएको छ । नेपालको संविधान २०७२ ले दलित समुदायका हक, अधिकारको व्यवस्था गरेको छ । साथै जातका नाममा गरिने विभेद, छुवाछूत, गालीगलौज, बहिस्कार अन्त्यको प्रावधानसमेत राखेको छ । यो संविधान जारी भएपछि अझ कार्यान्वयन भइसकेपछि समेत जातीय विभेदका घटना, हत्या, दमन, छुवाछूतका जघन्य अपराधका कैयौं घटना भएका छन् । देशमा गणतन्त्र आयो, नयाँ संविधान बनेर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको राज्य प्रणाली स्थापना भयो तर राज्यबाट उपेक्षित दलित समुदायको मुद्धा ज्युँको त्यूँ रहेको छ । काननु र संविधानले जातिय छुवाछुतलाई मान्यता दिदैँन । कानुन र संविधानका अक्षरलाई हेर्ने हो भने नेपालमा सबै जातजाति समान छन् । तर व्यवहारत्ः मुलुकबाट न त छुवाछुतको अन्त्य हुन सकेको छ ।
राज्यका उच्च तहमा पुगेका व्यक्ति वा दलले दलित समुदायलाई भोट बैकको रुपमा प्रयोग गदै आएका छन् । उनीहरु हाम्रो मुद्धामा कहिल्यै सकरात्मक छैनन् । दलित समुदायको प्रतिनिधित्व गर्ने सांसदहरुले विभेद र जातिय छुवाछुतको अन्त्य गर्ने कुरामा मौन छन्् । विभेदमुक्त समाज निर्माणमा नीति, निर्माणको काममा बसेर पनि प्रभावकारी भुमिका निर्वाह गर्न सकेका छैनन् । रुकुमको घटनालाई लिएर नेकपाका नेता एंव पूर्व गृहमन्त्री जर्नादन शर्माले संसदमा घटनालाई तोडमोड गरिदिए । घटनामा दोषीहरुको बचाउ गदै आफ्ना तर्क प्रस्तुत गरे । घटनालाई लिएर नेपाली काँग्रेसका केही नेताहरुले चर्को स्वरमा आवाज उठाएपनि यो सरकार हाम्रा पीडा सुन्ने बाला छैन । दलितमाथि हुने विभेदको समस्या अझै घटेको छैन । विभिन्न सामाजिक उत्पिडनका घटना अझै पनि भैरहेका छन् । नीतिगत रुपमा त्यसको हल गर्न सांसदहरुको सशक्त भुमिका हुनैपर्छ । विभेदमुक्त समाज निर्माणमा र राज्यको हरेक निकायमा दलितको प्रतिनिधित्व पुराउन राजनीतिक रुपमा लड्न सबै दलित सांसदहरु यो त्यो पार्टी नभनी एकजुट भएर लाग्नु आवश्यक छ ।
दलित दलित भित्र देखिएको विभेदले हामी बिच असमानता मात्र होईन दलित आन्दोलनलाई पनि कमजोर मात्र बनाएको छ । त्यसका लागि हामीले हामी भित्र रहेको जातीय विभेद हटाउनु आवश्यक छ । जबसम्म दलित–दलित बिच विभेद कायमै रहन्छ तवसम्म जातीय बिभेद हट्ने र हटाउँछौँ भन्ने संकल्प गर्नु केवल मुर्खता मात्र हुनेछ